भदौ ५ गते मंगलबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचाररमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । मंगलबार तयार पारिएको मुख्य १० समाचारमा कांग्रेसको केन्द्रीय अनुशासन समितिमा मनोनीतदेखी राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानन्यायाधीशलाई शपथसम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस सोमबारका मुख्य १० समाचार
कांग्रेसको केन्द्रीय अनुशासन समितिमा चार जना मनोनीत
काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय अनुशासन समितिमा चार जनालाई मनोनीत गरेका छन्। सभापति देउवाले केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जकुमार गौतम र राजीव कोइरालालाई मनोनीत गरेका हुन्।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ (७) बमोजिम गठित केन्द्रीय अनुशासन समितिको संयोजक आनन्दप्रसाद ढुंगाना रहेका छन्। त्यस्तै सभापति देउवाले पूर्व महान्यायाधीवक्तासमेत रहेका खम्बहादुर खातीलाई कांग्रेसको केन्द्रीय निर्वाचन समितिको रिक्त रहेको संयोजक पदनमा नियुक्त गरेका छन्।
ओली अनुपस्थित भएपछि शीर्षनेताको बैठक स्थगित
राष्ट्रिय दल मान्यताप्राप्त पार्टीका शीर्षनेताहरुको बैठक स्थगन भएको छ ।प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि शीर्षनेताहरुको बैठक स्थगन भएको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारका लागि बोलाएको उक्त बैठक बस्दै नबसी स्थगित गरिएको हो । बैठक नबसेसँगै सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समितिकाो विषयमा मस्यौदाले अन्तिम रुप पाउन सकेन ।एमालेको मागअनुसार उच्चस्तरीय समिति गठन गर्न दलहरु सहमत भएका थिए । सोही सहमतिअनुसार मंगलबार समितिको मस्यौदालाई अन्तिम रुप दिने तयारी थियो ।
सिंहदरबारमा अरु नेता बैठकमा सहभागी हुन पुगे पनि ओली भने गएनन् । उनी बिरामीकाले बैठक उपस्थित हुन नसकेपछि अरु नेताहरु बैठकै नबसी हिँडेका थिए ।सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित एमालेले गत १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ । अवरोध खुलाउन भन्दै सोमबार बसेको सर्वदलीय बैठकले छानबिन समिति बनाउने निर्णय गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सम्मिलित तीन सदस्यीय मस्यौदा समिति गठन गरेको थियो ।
प्रतिनिधिसभा बैठक भोलि ३ बजेसम्मका लागि स्थगित
भदौ ५ गते मंगलबार दिनको ३ः ०० बजे बस्ने गरी तोकिएको प्रतिनिधिसभा बैठक भोली दिनको ३ ः०० बजेसम्मका लागि स्थगित भएको छ । मंगलबारका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३)बमोजिम सभामुखले अर्को बैठक भदौ ६ गते बुधबार दिनको ३ः ०० बजे बस्ने गरी निर्धारण गरेको संघीय संदसका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक स्थगित गरिएको हो । संसद बैठक अघि शीर्ष तहको बैठक बसेर सुवास नेम्वाङ, रमेश लेखक र हितराज पाण्डेले तयार गरेको ड्राफ्टलाई अन्तिम रूप दिने बताइएपनि एमाले अध्यक्ष केपी शर्मा अनुपस्थित रहेपछि शीर्ष तहको बैठक एजेन्डा तय नभई स्थगित भएको छ ।
एमाले प्रमुख सचेतक पदम गिरीले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएको बताएका छन् । त्यसपछि संघीय संसद सचिवालयले पनि मंगलबारका लागि तय भएको प्रतिनिधीसभा बैठकको मिति परिवर्तन भएको सुचना सार्वजनिक गरेको हो ।एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने भन्दै आएको थियो ।
एमालेको दोहोरो चरित्र : प्रधानमन्त्रीले बोलाएको बैठकमा जाने, राष्ट्रपतिले बोलाएकोमा नजाने
नेपालको राजनीतिमा दोहोरो चरित्र र भूमिका निभाउनेमा प्रमुख प्रतिपक्षी दल एमाले अग्रस्थानमा पर्छ । जानी जानी एमालेले राजनीतिलाई गिजोल्दै आएको छ । अहिलेदेखि होइन, नेपालमा प्रजातन्त्र स्थापना भएदेखि नै एमालेले यस्तै यस्तै भूमिका खेल्दै आएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले करिब एक महिनादेखि संसद् अवरुद्ध गर्दै आएको छ । अवरुद्ध संसद् खुलाउन तीन दिनदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय दलको बैठक राख्दै आएका छन् । प्रधानमन्त्रीले राखेको सर्वदलीय बैठकमा एमाले नेताहरू सहभागी हुँदै आएका छन् । आज पनि प्रचण्डले बैठक बोलाएका छन् । त्यो बैठकमा पनि एमाले सहभागी हुने भएको छ ।
तर संसद् खुलाउन राष्ट्रपति रामचन्द्र पौडेलले डाकेको सर्वदलीय बैठकमा भने एमाले गएन । एमाले नेताहरूले बैठक बहिष्कार गरे । जबकि विगत सात वर्षमा विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा उनले बोलाएको बैठकमा एमाले सधैं शीतल निवास जाने गरेको थियो । एमाले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नजानु र प्रधानमन्त्रीले बोलाएको बैठकमा जानुको मुख्य कारण एकीकृत समाजवादी नै रहेको रहस्य खुलेको छ । राष्ट्रपतिले बोलाएको बैठकमा एकीकृत समाजवादी पनि सहभागी थियो । तर प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठकमा एकीकृत समाजवादी सहभागी छैन । ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा एकीकृत समाजवादी राष्ट्रिय दल बन्न सकेन । त्यसैले एमालेले माधवकुमार नेपाललाई छोइछिटो गर्नकै लागि दोहोरो चरित्र देखाएको पुष्टि भएको छ ।
माधव नेपालको राजनीतिक प्रतिवेदन सार्वजनिक
नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव कुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । काठमाडौंमा आज (मंगलबार) देखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले आफ्नो ४० पृष्ठ लामो प्रतिवेदन पेश गर्दै एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि गर्ने जमर्को गरेका छन् ।
यस्तै अन्तर्राष्ट्रिय परिस्थिति, भूराजनीतिक परिस्थिति, आजको राजनीतिक परिस्थितिबारे संक्षिप्त टिप्पणी गर्दै प्रतिवेदनमा नेपाली समाजको विशिष्ट अवस्थाबारे पनि चर्चा गरिएको छ । यसैगरी पार्टीको सैद्धान्तिक वैचारिक दृष्टिकोण, समाजवादी कार्यक्रम र कार्यदिशाबारे उल्लेख गर्दै नेपालले ७ कारणले आफ्नो पार्टी एमाले भन्दा फरक रहेको र विद्रोहको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् । नेकपा एसको केन्द्रीय कमिटी बैठक भदौ ५ देखि ७ गतेसम्म चल्ने छ ।
प्रधानमन्त्री प्रचण्ड पुगे चितवन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृह जिल्ला चितवन पुगेका छन् । उनी मंगलबार दिउँसो चितवनको भरतपुर विमानस्थलमा पुगेका हुन् । भरतपुर बनेको २२०/१३२ केभी सबस्टेसन र हेटौँडा–भरतपुर–बर्दघाटसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्न उनी चितवन पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई भरतपुर विमानस्थलमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरेका थिए ।
५७औं दिनमा सिआईबीले ललिता निवास प्रकरणसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझायो
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मंगलबार ललिता निवास जग्गा हिनामिना प्रकरणसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ । सिआईबीले जग्गा हिनामिना प्रकरणको सबै अनुसन्धान सकेर ५७औं दिनमा जिल्ला सरकारी वकिललाई प्रतिवेदन बुझाएको हो ।
सिआईबीका एसपी नवराज अधिकारीले ठगी र कीर्तेमा करिब ३०० प्रतिवादीलाई मुद्दा चलाउन रायसुझाव दिएको जानकारी दिए । ६० दिनसम्म मात्र थुनामा राख्न पाइने भएकाले शुक्रबारसम्म अदालतमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्नेछ अनुसन्धानका क्रममा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई, पूर्वमन्त्रीद्वय विजयकुमार गच्छदार र चन्द्रदेव जोशीसँग सिआइबीले बयान लिएको छ । उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भए पनि सिआइबीले हिरासतमा नराखी हाजिरी जमानीमा छाडेको छ ।
एक सय ४३ रोपनी जग्गा हिनामिनाको विगत चार वर्षदेखि सिआइबीले अनुसन्धान गरिरहेको छ । डेढ वर्षअघि पनि सिआइबीले मुद्दा दायरको प्रक्रिया अघि बढाएकोमा चलखेलकै आधारमा जिल्ला सरकारी वकिल कार्यालयले फाइल फर्काइदिएको थियो अहिले पनि कर्मचारी, बिचौलिया, व्यापारीविरुद्ध मात्र मुद्दा दायरको हुने सम्भावना छ । यो प्रकरणमा भाटभटेनी सुपरमार्केट सञ्चालक मिनबहादुर गुरुङसहित हाल थुनामा छन् ।
सिआईबीले लियो उपप्रधानमन्त्री गच्छेदारसँग बयान
ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग बयान लिएको छ । सोमबार साँझ सीआईबीले गच्छेदारसँग बयान लिएको हो । संगठित रुपमा सरकारी लिखत किर्ते गरेर बालुवाटार क्याम्प भित्रको १४७ रोपनी जग्गा हिनामिना प्रकरणमा गच्छेदार संलग्न रहेको सिआईबीको अनुसन्धान निष्कर्ष छ । बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको भन्दै सीआईबीले गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सीआइबीले सोही प्रकरणमा सोमबार पूर्वमन्त्री चन्द्रदेव जोशीसँग पनि बयान लिएको थियो । यसैगरी आईतबार राति पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईको पनि बयान कागज गराएको थियो ।
कोशी सरकारविरुद्ध फेरि बुधबार सर्वोच्च अदालत जाँदै एमाले
कोशी प्रदेशसरका विरुद्धमा नेकपा एमाले सर्वोच्च अदालत जाने भएको छ । भदौ पाँच गते कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत विश्वासको मत लिएको भन्दै नेकपा एमाले बदरको मागसहित सर्वोच्च अदालत जाने भएको छ । मंगलबार प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम साधारणसभामा बोल्दै नेता कार्कीले यस्तो बताएका हुन्् ।
प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै अदालत जाने तयारी भएको एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले बताए । उनका अनुसार संसदीय दलले समेत रिट दायर गर्ने निर्णय भएको छ । बुुधबार उक्त रिट नेकपा एमालेले सवोृच्च अदालतमा दायर गर्ने तयारी रहेको छ ।
यो गर्नुभन्दा अर्को विकल्प नेकपा एमालेसँग नभएको उनले बताए । कोशी प्रदेशका पूर्वमु्ख्यमन्त्री कार्कीले ‘प्रदेश नियमावली र संविधानका धारा छलेर जाने ठाउँ कोशीका मुख्यमन्त्री थापालाई नभएको समेत उनको भनाइ छ । उनले मदौ पाँचमा सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका उद्धव थापाले असंवैधानिकरूपमा सभाध्यक्षलाई प्रयोग गर्दै हिजो विश्वासको मत लिएको बताए । पूर्वमुख्यमन्त्ती कार्कीले यस्तो गर्ने छुट कसैलाई नभएको दाबी गरेका छन् ।
राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानन्यायाधीशलाई शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारी उच्च पदस्थ अधिकारीको उपस्थिती थियो ।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् । संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत् अनुमोदन गरेको थियो । विसं २०१६ असोज २० मा डोटी जिल्लामा जन्मिनुभएका प्रधानन्यायाधीश श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास रहेकोमा हाल काठमाडौँको कुलेश्वरमा बस्दै आउनुभएको छ । श्रेष्ठ विसं २०८१ असोज १९ पछि अनिवार्य अवकाश हुने छन् ।




