काठमाडौं । लामो समयदेखि चर्चामा रहे पनि निर्माण प्रक्रिया अघि बढ्न नसकेको १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाअन्तर्गत कार्यालय भवन, आवास भवन र पक्की पुल निर्माणको शिलान्यास गरिएको छ ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले बुधबार आयोजित कार्यक्रममा ती संरचनाको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, पूर्वाधार विकास मन्त्रालयका सुनील लम्साल तथा धादिङ र गोरखाका सांसदहरूको उपस्थिति थियो ।
जलाशययुक्त रूपमा निर्माण गर्ने प्रस्ताव गरिएको बूढीगण्डकी आयोजना वर्षौंदेखि चर्चामा रहे पनि यसको निर्माणले अपेक्षित गति लिन सकेको छैन । आयोजना अघि बढाउने विषयमा विभिन्न चरणमा चर्चा र तयारी हुँदै आए पनि मुख्य निर्माण प्रक्रिया सुरु हुन सकेको थिएन ।
आयोजनासँग सम्बन्धित कार्यालय, आवास र पुल निर्माणको शिलान्यास भएपछि अब परियोजनाले गति लिने अपेक्षा गरिएको छ । यद्यपि, यी संरचनाको शिलान्याससँगै मुख्य जलविद्युत् आयोजना निर्माणको काम कहिले सुरु हुन्छ भन्ने विषय भने अझै स्पष्ट भएको छैन ।




