जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने समयसीमा सकिँदासमेत राजनीतिक दलहरूबीच सहमति जुट्न सकेको छैन । प्रदेश प्रमुखले दिएको समयभित्र कुनै पनि दलले सरकार गठनका लागि स्पष्ट दाबी पेस गर्न नसकेपछि नयाँ सरकार गठन प्रक्रिया अन्योलमा परेको छ ।
सरकार गठनका लागि विभिन्न दलबीच छलफल र समीकरणको प्रयास भए पनि नेतृत्वको विषयमा सहमति हुन नसकेको हो । नेकपा एमालेसहितको गठबन्धनबाट सरकारको नेतृत्व गर्ने विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपाल अनिच्छुक देखिएको छ ।
अन्तिम समयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू भने प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।
नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रयासमा जुटेका छन् । तर, नेपाली कांग्रेसले उनको नेतृत्व स्वीकार गरिसकेको छैन ।
यता जसपा नेपालले भने अग्रगामी मोर्चाको अवधारणाअनुसार जनमत पार्टी र नेपाली कांग्रेसलाई समेत समेटेर सरकार गठन गर्ने रणनीति बनाएको छ ।
यसैबीच कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेकपाका संसदीय दलका नेता युवराज भट्टराई प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।
दलहरूबीच नेतृत्व र सत्ता समीकरणमा सहमति नजुट्दा मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया थप अनिश्चित बनेको छ ।




