देश

कांग्रेसले मंसिर १ देखि ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने

पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आगामी मंसिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्न लागिएको बताएका छन् ।

कांग्रेस गण्डकी प्रदेशले सोमबार पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले पार्टीका कमीकमजोरी सच्याउँदै सशक्त रूपमा उभिन र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न योजना बनाउन अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

हल्ला र कानेखुसीले पार्टी कमजोर हुने भन्दै पौडेलले नेता तथा कार्यकर्तालाई त्यसतर्फ नलाग्न आग्रह गरे । पार्टीलाई सशक्त बनाउन आपसी सहकार्य र समन्वय आवश्यक रहेकोमा उनले जोड दिए ।

कार्यविभाजन नभएका नेताहरूलाई भूमिका दिने सन्दर्भमा पार्टीले फराकिलो दायरा निर्माण गर्ने पनि उनले स्पष्ट पारे ।

पौडेलले मंसिर महिनाभित्रै जिल्ला तथा प्रदेश अधिवेशनका साथै स्थानीय तह निर्वाचनको तयारीलाई व्यापक बनाइने बताए । अभियानको खाकासहितको सर्कुलर छिट्टै प्रदेश र जिल्ला तहमा पठाइने उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *