देश

महागुरु फाल्गुनन्दको मार्ग निर्देशबाट नैतिक, सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दको मार्गनिर्देशले वर्तमान समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाएको बताएका छन् ।

राष्ट्रपति पौडेलले आज किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक रूढीवादीको अन्त्य गरी समाजलाई सही बाटो देखाउन फाल्गुनन्दले दिएको योगदान स्मरणीय रहेको बताएका हुन् ।

राष्ट्रपति पौडेलले फाल्गुनन्दको मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन योगदान पुगेको बताए ।

“किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने राष्ट्रिय विभूति फाल्गुनन्दले समाज सुधारका लागि खेलेको महत्त्वपूर्ण भूमिकाको कदर गर्दै नेपालका विभिन्न जिल्लामा विशेष कार्यक्रमको आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ”, राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

महागुरु फाल्गुनन्दले धार्मिक गुरु तथा सामाजिक अभियन्ताका रूपमा समाज सुधारक भई धर्म, भाषा, लिपि, परम्पराको संरक्षण र विकासमा समेत कार्य गरेको राष्ट्रपतिको सन्देशमा जनाइएको छ ।

राष्ट्रपति पौडेलले फाल्गुनन्द जयन्तीले सम्पूर्णमा सहिष्णुता, सद्भाव, सुशासन, अहिंसा एवं समाज सुधारको अभियानमा सक्रिय भइरहन थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *