काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई मानसिक र सांगठनिक रूपमा तयार रहन निर्देशन दिएका छन् ।
आइतबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै आन्दोलनका लागि तयारी अवस्थामा रहन पार्टीपंक्तिलाई आग्रह गरेका हुन् ।
आन्दोलनका लागि सधैँ लामो समय तयारी गर्नुपर्ने अवस्था नहुने उल्लेख गर्दै उनले परिस्थिति असह्य भएपछि तत्कालै आन्दोलन सुरु हुन सक्ने बताए ।
‘हाम्रो पार्टीको केन्द्रीय कमिटीले अगाडि दुईवटा महत्वपूर्ण कार्यभार रहेको बताएको छ । आवश्यकताअनुसार हामीले आन्दोलन गर्नुपर्ने हुन सक्छ । त्यसैले आन्दोलनको तयारीको मानसिकतासहित साथीहरू सधैँ तयार रहनुहोला । आन्दोलन सधैँ लामो तयारी गरेर मात्रै हुन्छ भन्ने छैन । असह्य भएपछि आन्दोलन तत्कालै निस्किन्छ’, ओलीले भने ।
उनले सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै निर्वाचन, जनविद्रोह र उपद्रवबाट समेत राजनीतिक सत्ता परिवर्तन हुने गरेको बताए ।
‘सन् १९१७ मा रुसमा दुई दिनको ठूलो विद्रोहबाट सत्ता उलटफेर भएको थियो । कहीँ विद्रोहबाट, कहीँ निर्वाचनबाट, कहीँ जनविद्रोहबाट त कहीँ उपद्रवबाट पनि परिवर्तन हुने गरेको हामीले देखेका छौँ’, उनले भने ।
ओलीले एमालेले विगतदेखि नै विभिन्न राजनीतिक चुनौती र दमनको सामना गर्दै आएको उल्लेख गर्दै पार्टीलाई कमजोर बनाउने प्रयास सफल नभएको दाबी गरे । पञ्चायतकाल र राजा महेन्द्रको शासनकालमा समेत पार्टी समाप्त पार्ने प्रयास भएको भन्दै उनले झापामा पार्टी पुनर्गठन गरेर अहिलेको अवस्थामा आइपुगेको बताए ।
‘हामीलाई आज मात्रै होइन, उहिलेदेखि नै सिध्याउन खोजिएको हो । पञ्चायतकालमा र राजा महेन्द्रको शासनकालमा पनि त्यस्तो प्रयास भयो । त्यही कारण हामीले झापामा पार्टी पुनर्गठन गरेर आज यहाँसम्म ल्याइपुर्याएका हौँ’, ओलीले भने ।
उनले एमाले अहिले पनि देशको सबैभन्दा मजबुत, देशभक्त र लोकतान्त्रिक शक्ति भएको दाबी गरे । नागरिकमा बेचैनी र निराशा बढ्दै गएको उल्लेख गर्दै ओलीले यस्तो अवस्थामा पार्टी वैचारिक रूपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनमा जानुपर्ने बताए ।
केही राजनीतिक शक्तिहरू निर्वाचनमार्फत पार्टी निर्माण गर्ने तयारीमा रहेको टिप्पणी गर्दै उनले एमालेले पहिले पार्टी निर्माण गरेर मात्रै निर्वाचनमा जाने नभई पार्टीलाई साथमा लिएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिए ।




