काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ ।
सरकारले गत कात्तिक १८ गते कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
तिहार बिदाका कारण उनको रिटमाथि सोमबारका लागि पेसी तोकिएको थियो । तर, छठ पर्वका अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएपछि सुनुवाइ हुन सकेन । मंगलबार अदालत खुलेपछि सर्वोच्च प्रशासनले बुधबारका लागि प्रारम्भिक सुनुवाइको मिति निर्धारण गरेको हो ।
कार्कीले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाइएको दाबी गरेका छन् । उनले आफूलाई पुनः प्रहरी महानिरीक्षकको जिम्मेवारीमा बहाल गर्न र नवनियुक्त आईजीपीलाई कामकाज गर्न नदिन अन्तरिम आदेश माग गरेका छन् ।
सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । उक्त निर्णयविरुद्ध कार्कीले कानुनी उपचार खोजेका हुन् ।




