देश

चीन भ्रमण केवल पर्यटकीय घुमघाममा मात्र सीमित नराख्न सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन साहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्रीले शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग छलफल गरेका हुन् । छलफलमा चीन भ्रमणको तयारी, भ्रमणका एजेन्डा तथा नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्रीले नेपाल र चीनबीच विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै यसलाई थप मजबुत बनाउन यस भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेको रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।उनले व्यापार तथा व्यवसाय, प्रविधि, पर्यटन, कृषिलगायत क्षेत्रमा चीनसँग सहकार्य विस्तार गरी नेपालले अधिकतम लाभ लिनुपर्ने प्रधानमन्त्रीको जोड रहेको बताए ।

प्रधानान्त्रीले दुई देशबीचको कूटनीतिक सम्बन्ध, आर्थिक साझेदारी र विकासका सम्भावनासँग जोडिएको भन्दै भ्रमण केवल पर्यटकीय घुमघाममा मात्र सीमित हुन नहुने बताए ।

चीनको प्रविधि, आर्थिक विकास र विभिन्न क्षेत्रमा हासिल गरेको अनुभवबाट नेपालले लाभ लिन सक्ने सम्भावनालाई भ्रमणका क्रममा प्राथमिकतामा राख्न निर्देशन दिएको बुर्लाकोटीले जानकारी दिए ।

रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय संसदीय प्रतिनिधिमण्डल आगामी आइतबार चीन प्रस्थान गर्ने कार्यक्रम छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा प्रतिनिधिमण्डलले बेइजिङ, हाङचोउ र सिचुवानलगायत स्थानको भ्रमण गर्नेछ ।

भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सरकारी सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा नेपाल–चीन सम्बन्धका विविध पक्षमा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *