देश

विवादित अडिओबारे गगनको प्रष्टीकरण : ‘एक सुका पनि लेनदेन गरेको छैन, मेरो हात सफा छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवाद र आफूलाई जोडेर सार्वजनिक गरिएको अडिओबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। भिडियो सन्देशमार्फत उनले उक्त अडिओमा के, कहाँ, कसले र कुन प्रयोजनका लागि बोलेको हो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको भन्दै त्यसको सत्यतथ्य निष्पक्ष अनुसन्धानबाट बाहिर आउनुपर्ने बताएका छन्।

थापाले नेपाली कांग्रेसको विशेष महाधिवेशन र पार्टीको आधिकारिकतासम्बन्धी कानुनी लडाइँमा आफूले कुनै आर्थिक लेनदेन वा अनुचित गतिविधि नगरेको दाबी गरेका छन्। पार्टीको आधिकारिकता प्राप्त गर्न एक सुका पनि खर्च वा लेनदेन नगरेको उनको भनाइ छ। उनले विशेष महाधिवेशनलाई पार्टीभित्र परिवर्तनको मागसहित तल्लो तहका कार्यकर्ताले गरेको विद्रोहको संज्ञा दिएका छन्। भदौ २३ र २४ गतेको युवा विद्रोहपछि पार्टीमा परिवर्तन आवश्यक रहेको निष्कर्षसहित आफूहरू त्यस अभियानमा सहभागी भएको उल्लेख गर्दै उनले त्यसलाई आर्थिक लेनदेनसँग जोडेर प्रचार गर्नु बदनियतपूर्ण भएको आरोप लगाए।

प्रहरी हिरासतमा रहेका इमान सापकोटासँग सम्बन्धित भनिएको अडिओबारे प्रतिक्रिया दिँदै थापाले त्यसको आधिकारिकता र पृष्ठभूमिबारे आफू अनभिज्ञ रहेको बताए। अडिओमा सुनिएका भनाइका आधारमा आफूले सार्वजनिक रूपमा स्पष्टीकरण दिँदै हिँड्नुपर्ने अवस्था नरहेको उनको तर्क छ। बरु अनुसन्धानको दायरामा रहेका व्यक्तिसँग आवश्यक प्रश्न सोध्नुपर्ने र घटनासँग जोडिएका सबै पक्षको निष्पक्ष छानबिन हुनुपर्ने उनले बताएका छन्।

‘दूधको दूध, पानीको पानी’ छुट्टिने गरी अनुसन्धान हुनुपर्नेमा जोड दिँदै थापाले अनुसन्धान निष्पक्ष भए सबै तथ्य स्वतः सार्वजनिक हुने विश्वास व्यक्त गरे। यस प्रकरणमा सञ्चारमाध्यम र सरोकारवालाले अनुसन्धान प्रक्रियामाथि निगरानी राख्नुपर्ने उनको भनाइ छ। अडिओ सार्वजनिक भएपछि आफूले विभिन्न राजनीतिक दलका नेताहरूसँग रातारात भेटघाट गरेको भन्ने प्रचारप्रति पनि थापाले असन्तुष्टि जनाएका छन्। पार्टी सभापतिको हैसियतमा राजनीतिक संवाद र भेटघाट गर्नु आफ्नो नियमित जिम्मेवारी भएको उनको स्पष्टीकरण छ।

मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारले केही दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले अन्य दलसँग संवाद आवश्यक रहेको उनले बताए। यही राजनीतिक सन्दर्भमा आफूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको उनको भनाइ छ। सरकारसँग लुकिछिपी कुनै राजनीतिक सहमति गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्दै उनले राजनीतिक भेटघाटलाई अनावश्यक रूपमा शंकाको घेरामा राख्न नहुने बताएका छन्। थापाले वर्तमान सरकार पाँच वर्षको जनादेशसहित आएको भन्दै त्यसको कार्यकाललाई सम्मान गर्ने बताएका छन्। तर सरकारले जनताको वास्तविक समस्यामा केन्द्रित भएर काम गर्नुपर्ने उनको सुझाव छ।

बाढीपहिरो र विपद्का कारण घरबारविहीन भएका नागरिकको पुनर्स्थापना, विस्थापित सुकुम्बासीको व्यवस्थापन, रोजगारी सिर्जना, लगानी अभिवृद्धि र कमजोर बन्दै गएको अर्थतन्त्र सुधार सरकारका प्राथमिकता हुनुपर्ने उनले औँल्याएका छन्। सरकारलाई आवश्यक विषयमा साथ र सहयोग गर्ने तर गलत कामको विरोध गर्न पछि नहट्ने उनको स्पष्टोक्ति छ। लोकतान्त्रिक अधिकार खुम्च्याउने र राज्यका संस्थाहरूलाई कमजोर बनाउने गतिविधि भए कांग्रेसले प्रतिवाद गर्ने उनले चेतावनी दिएका छन्।

सरकारका कामकारबाहीमाथि प्रश्न उठाउन थालेपछि आफूहरूविरुद्ध योजनाबद्ध रूपमा गलत भाष्य निर्माण गर्न खोजिएको थापाको आरोप छ। तर यस्ता प्रचारले सरकारका कमजोरीमाथि प्रश्न उठाउने आफ्नो राजनीतिक जिम्मेवारी कमजोर नबनाउने उनले बताएका छन्। आफ्नो नैतिकता र राजनीतिक इमानदारितामाथि उठेका प्रश्नको जवाफ दिँदै थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको दाबी गरेका छन्।

उनले विगतमा पनि शक्तिशाली सरकार र आफ्नै पार्टी नेतृत्वका गलत निर्णयविरुद्ध आवाज उठाउँदै आएको स्मरण गराए। आफ्नो स्वच्छता र नैतिकताप्रतिको विश्वासकै कारण सत्तासँग लड्ने आँट आएको उनको तर्क छ। ‘मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन। मेरो हात सफा छ, माई ह्यान्ड्स आर क्लिन,’ भन्दै उनले आफूबाट कुनै गलत वा अनैतिक काम नभएको र हुन नसक्ने दाबी गरेका छन्।

आफूविरुद्ध विगतमा पनि विभिन्न समयमा प्रायोजित प्रचार र चरित्रमाथि प्रश्न उठाउने प्रयास भएको उल्लेख गर्दै थापाले हरेक पटक त्यसको सामना गरेर अघि बढेको बताएका छन्। भिडियो सन्देशको अन्त्यमा उनले विवाद र आरोप–प्रत्यारोपका बीच नागरिक तथा सञ्चारमाध्यमले प्रश्न गर्न नछाड्न आग्रह गरेका छन्। प्रश्न गर्ने अधिकार कमजोर भयो भने लोकतन्त्र नै संकटमा पर्ने उनको भनाइ छ। ‘प्रश्न मर्‍यो भने डेमोक्रेसी सकिन्छ,’ भन्दै थापाले अहिलेको सबैभन्दा ठूलो चुनौती लोकतान्त्रिक समाजमा प्रश्न गर्ने संस्कृतिलाई जोगाउनु रहेको बताएका छन्। उनले आफूविरुद्धका आरोपको निष्पक्ष छानबिन हुनुपर्ने र त्यसक्रममा सत्यतथ्य बाहिर आउनुपर्नेमा जोड दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *