काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीलाई सम्भावित विपद्, वित्तीय अपराध र साइबर अपराधको सामना गर्न सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
७१औँ प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले प्रहरी सङ्गठनलाई थप प्रभावकारी बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरेका छन् ।
प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको पनि उनले जानकारी दिएका छन् ।
प्रधानमन्त्री शाहले कर्तव्य पालनाका क्रममा हालैको भोटेकोशी–त्रिशूली विपद्लगायत विभिन्न घटनामा ज्यान गुमाएका प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले कर्तव्य निर्वाहका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
‘विपद्मा सारथी, सङ्कटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ ७१औँ प्रहरी दिवस मनाइरहेको उल्लेख गर्दै उनले कार्यक्रममा विमोचन हुने ‘पुलिस मिरर–२०८३’ ले नेपाल प्रहरीको इतिहास र वर्तमानलाई भावी पुस्तासँग जोड्ने विश्वास व्यक्त गरेका छन् ।
पछिल्लो समय वित्तीय तथा साइबर अपराध बढ्दै गएकोप्रति सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्री शाहले यस्ता अपराधको रोकथाम र नियन्त्रणका लागि विभिन्न निकायबीच सहकार्य बढाइने बताएका छन् ।उनका अनुसार नेपाल प्रहरीको सहकार्यमा नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायक र डिजिटल वालेट सञ्चालकलाई एकै ठाउँमा ल्याएर नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था भइरहेको छ । साथै, कृत्रिम बुद्धिमत्ता (एआई), ‘एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट’ तथा ‘इन्टिग्रेटेड एन्टिस्काम सेन्टर’ स्थापना गर्ने तयारीसमेत भइरहेको उनले बताएका छन् ।
नेपालको आन्तरिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न नेपाल प्रहरीले निरन्तर महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सङ्कटका बेला राष्ट्रसेवकको धैर्यता, सही निर्णय र कार्यसम्पादन क्षमताको वास्तविक परीक्षा हुने बताएका छन् ।
उनले विपद् व्यवस्थापन, प्रविधि विस्तार र पूर्वाधार निर्माणमा सहयोग गर्ने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय विकास साझेदारप्रति धन्यवाद व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले पठाएको शुभकामना सन्देश प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कार्यक्रममा वाचन गरेर सुनाएका थिए ।




