देश

सांसद सुनारको ‘हिंस्रक र आतंककारी अडियो सार्वजनिकपछि पीडितकी बहिनी मिडियामा , कारबाहीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित विवादित अडियो सार्वजनिक भएपछि पीडित भनिएकी महिलाकी बहिनीले घटनाबारे मुख खोलेकी छन्। उनले अडियो सार्वजनिक भएलगत्तै दिदीका सामाजिक सञ्जाल निष्क्रिय भएको र मोबाइल फोनसमेत बन्द रहेको बताउँदै घटनाले दिदीमाथि मानसिक दबाब परेको हुन सक्ने आशंका व्यक्त गरेकी छन्।

एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै उनले अडियोमा सुनिएको आवाज दिदीकै भएको आफूले पहिचान गरेको दाबी गरिन्। त्यसपछि सम्पर्क गर्न खोज्दा फेसबुक, ह्वाट्सएप र टिकटक निष्क्रिय रहेको तथा फोनसमेत बन्द पाएको उनको भनाइ छ।

‘आवाज सुन्नेबित्तिकै दिदीको हो भन्ने चिनें। त्यसपछि सम्पर्क गर्न खोज्दा फेसबुक डिएक्टिभ भइसकेको थियो। ह्वाट्सएप र टिकटक पनि थिएनन्, फोनसमेत अफ थियो,’ उनले अन्तर्वार्तामा भनेकी छन्।

पीडितकी बहिनीले दिदीमाथि अश्लील भिडियोमार्फत मानसिक दबाब दिने र आर्थिक शोषण गर्ने गरिएको आरोपसमेत लगाएकी छन्। आपसी सहमतिमा सम्बन्ध अन्त्य गर्न सकिने अवस्था हुँदाहुँदै यस्तो व्यवहार गरिएको उनको दाबी छ। यद्यपि, यी आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

उनका अनुसार दिदी केही समयअघि अमेरिकाबाट नेपाल फर्किएकी हुन्। उनी पहिले विवाह भएको र अहिले श्रीमान् साथमा नरहेको अवस्थामा एक्लै बस्दै आएको तथा उनका छोरा अमेरिकामा रहेको बहिनीले बताएकी छन्। सुनारसँगको सम्बन्धबारे परिवारलाई जानकारी नदिएको पनि उनको भनाइ छ।

घटनामा निष्पक्ष छानबिन गरी दोषी देखिने व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने माग गर्दै उनले कानुनभन्दा माथि कोही नरहेको बताएकी छन्।

जनआस्था अनलाइनले सांसद सुनारले एक महिलालाई धम्क्याएको भनिएको अडियो सार्वजनिक गरेपछि प्रकरणले चर्चा पाएको हो। घटनापछि राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको जनाइएको छ।

अडियोमा सुनिएको आवाज, त्यसको वास्तविकता र महिलामाथि लगाइएको भनिएको दबाब तथा आर्थिक शोषणका आरोपबारे सम्बन्धित निकायबाट आधिकारिक पुष्टि हुन बाँकी छ। घटनाको निष्पक्ष अनुसन्धान र सम्बन्धित व्यक्तिहरूको भनाइका आधारमा मात्रै यसबारे स्पष्ट निष्कर्षमा पुग्न सकिनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *