काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरीलाई कुनै पनि दबाब र अनुचित प्रभावमा नपरी इमानदारी, नैतिकता र जवाफदेहिताका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रहरीसम्बन्धी कार्यक्रममा सहभागी भएका शाहले प्रहरी सेवामा निष्पक्षता र व्यावसायिकता कायम राख्नुपर्नेमा जोड दिएका हुन्।
सोमबार काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित नेपाल प्रहरी निरीक्षकको १–१८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नागरिकले भेदभावरहित र प्रभावकारी प्रहरी सेवा पाएको अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिए। भेदभाव नगरी प्रहरीले कुशलतापूर्वक काम गर्नेछ भन्ने विश्वास नागरिकमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु,’ उनले भने।
आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई सम्बोधन गर्दै शाहले कुनै पनि दबाब वा प्रभावमा नपर्न आग्रह गरे। संगठनको प्रोटोकलविपरीतका गतिविधिमा संलग्न नहुन पनि उनले सचेत गराए। शाहले प्रहरी सेवामा इमानदारी र नैतिकतालाई पेसागत सफलताको प्रमुख आधारका रूपमा व्याख्या गरे। जिम्मेवारी पूरा गर्दा जवाफदेहिता उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ थियो। चुनौतीपूर्ण प्रहरी सेवामा आफ्ना सन्तानलाई पठाउने अभिभावक तथा परिवारप्रति उनले आभारसमेत व्यक्त गरे।
समयसँगै अपराधको प्रकृति परिवर्तन भइरहेकाले अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको प्रधानमन्त्री शाहले बताए। परिणाममुखी अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार तयार रहेको पनि उनले उल्लेख गरे। अपराध अनुसन्धानलाई परम्परागत शैलीमा मात्र सीमित नराखी बदलिँदो अपराध प्रवृत्तिअनुसार प्रहरीलाई सक्षम बनाउनुपर्ने उनको भनाइ थियो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक डीआईजी दिनेश आचार्यका अनुसार दीक्षान्त समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्। दीक्षित हुनेमध्ये आठ जना महिला र ७१ जना पुरुष छन्। उनीहरूले ३४० दिनसम्म सञ्चालन भएको कठिन आधारभूत तालिम पूरा गरेका हुन्। तालिमपछि उनीहरू जिम्मेवारी सम्हाल्न कार्यक्षेत्रमा प्रवेश गर्नेछन्।
समारोहमा मुख्यसचिव गोविन्दबहादुर कार्की, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललगायत उच्च अधिकारीहरूको उपस्थिति थियो।




