देश

शनिबार र आइतबार काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार र आइतबार विद्युत् आपूर्ति प्रभावित हुन सक्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणले मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता बढाउने तथा सुदृढीकरण गर्ने काम अघि बढाएकाले विद्युत् आपूर्तिमा असर पर्न सक्ने जनाएको हो।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले असोज २४ गते शनिबार र २५ गते आइतबार प्रसारण लाइन बन्द गरेर पुराना तार परिवर्तन गर्ने तयारी गरेको छ। दुवै दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गरी काम गरिनेछ।

प्राधिकरणका अनुसार मातातीर्थ–स्युचाटार १३२ केभी डबल सर्किट प्रसारण लाइनमा रहेको कम क्षमताको पुरानो कन्डक्टर हटाएर उच्च क्षमताको नयाँ एचटिएलएस कन्डक्टर जडान गर्न लागिएको हो। उक्त प्रसारण लाइनको एउटा सर्किटमा करिब चार सय मिटर तार परिवर्तन गर्न बाँकी रहेको छ।

प्रसारण लाइनको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्तरोन्नतिको काम अघि बढाइएको प्राधिकरणले जनाएको छ। नयाँ तार जडान भएपछि विद्युत् वहन क्षमता बढ्ने र काठमाडौं उपत्यकामा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।
यसका साथै विद्युत् प्रणालीलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन पनि स्तरोन्नतिले सहयोग पुर्‍याउने प्राधिकरणको विश्वास छ।

प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा असर पर्न सक्ने प्राधिकरणले जनाएको छ। निर्धारित समयमै काम सम्पन्न गर्ने गरी आवश्यक प्राविधिक तयारी गरिएको जनाउँदै प्राधिकरणले मौसम प्रतिकूल भएमा भने कार्यतालिका परिवर्तन हुन सक्ने स्पष्ट पारेको छ। प्राविधिक स्तरोन्नतिका कारण ग्राहकमा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *