काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको मञ्चमा पार्टी निर्माणमा योगदान गरेका अग्रज नेताहरूको अनुपस्थिति खड्किएको बताएका छन् । महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले निवर्तमान सभापति शेरबहादुर देउवासहित पार्टीका अन्य अग्रज नेताहरूको योगदान स्मरण गर्दै उनीहरू मञ्चमा नहुँदा आफूलाई नमिठो लागेको बताए । उनले कांग्रेसको वर्तमान अवस्थासम्म आइपुग्न देउवासहित धेरै नेताले लामो समय संघर्ष र योगदान गरेको उल्लेख गरे ।
‘विनम्रतापूर्वक आग्रह गर्छु, निवर्तमान पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो जीवनकालमा नेपाली कांग्रेस पार्टीमा लामो समय योगदान गर्नुभएको छ, संघर्ष गर्नुभएको छ,’ थापाले भने, ‘पार्टी निर्माणमा यति ठूलो योगदान गर्नुभएको छ, पार्टीका अरू नेताहरूको योगदान छ । त्यसकारण हामीलाई मिठो लागिरहेको छैन । आज यो मञ्चमा हाम्रा दाइहरू पनि हुनुपर्थ्यो भन्ने हामीलाई लाग्छ ।’
थापाले पार्टीको इतिहास र निर्माणमा योगदान गरेका सबै नेताप्रति सम्मान व्यक्त गर्दै कांग्रेसको आगामी यात्रामा उनीहरूको योगदानलाई स्मरण गर्नुपर्ने धारणा राखेका छन् ।




