दमौली (तनहुँ)। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँका १० वटै पालिकामा नयाँ नेतृत्व चयन भएको छ । बुधबार सम्पन्न पालिका अधिवेशनबाट आठ पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने दुई पालिकामा मतदानमार्फत नेतृत्व चयन गरिएको हो ।
अधिवेशनबाट व्यास नगर सभापतिमा तुल्सीराम सापकोटा, भिमाद नगर सभापतिमा अर्विन श्रेष्ठ, भानु नगर सभापतिमा राजन श्रेष्ठ, शुक्लागण्डकी नगर सभापतिमा कृष्णप्रसाद रेग्मी, घिरिङ गाउँ सभापतिमा सुमन थापामगर, ऋषिङ गाउँ सभापतिमा याम सारुमगर, आँबुखैरेनी गाउँ सभापतिमा सोम दर्लामी र बन्दीपुर गाउँ सभापतिमा पर्शुराम अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै, म्याग्दे गाउँ सभापतिमा मतदानमार्फत नरसिंह राना विजयी भएका छन् भने देवघाट गाउँ सभापतिमा अर्जुन अधिकारी निर्वाचित भएका छन् । यससँगै तनहुँका सबै १० पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ ।
८५ वडामै महिला सभापति शून्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न वडा अधिवेशनमा तनहुँका ८५ वटै वडामा पुरुष सभापति चयन भएका छन् । जिल्लाका १० स्थानीय तहका कुनै पनि वडामा महिला सभापति निर्वाचित भएका छैनन् ।
कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालका अनुसार व्यास नगरपालिकाका १४, शुक्लागण्डकी नगरपालिकाका १२, भिमाद नगरपालिकाका ९, भानु नगरपालिकाका १३, देवघाट गाउँपालिकाका ५, आँबुखैरेनी गाउँपालिकाका ६, ऋषिङ गाउँपालिकाका ८, घिरिङ गाउँपालिकाका ५, म्याग्दे गाउँपालिकाका ७ र बन्दीपुर गाउँपालिकाका ६ वडामा सभापति चयन भएका छन् ।
वडा तहलाई पार्टी सङ्गठनको महत्वपूर्ण आधारका रूपमा लिइए पनि नेतृत्व चयनमा कुनै पनि महिला सभापति निर्वाचित नहुनुले कांग्रेसको वडा तहको नेतृत्वमा महिलाको प्रतिनिधित्वको अवस्था कमजोर देखिएको छ ।




