काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सम्भावित मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जालमार्फत मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको उल्लेख गर्दै यस्तो आग्रह गरेका हुन्।
उनले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउनसमेत अनुरोध गरेका छन्।
विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुनसक्ने सम्भावना छ।
मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम रहेकाले विशेष सतर्कता अपनाउन विभागले जनाएको छ।
सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानका साथै सडक र हवाई यातायातमा समेत अवरोध हुनसक्ने भएकाले विभागले सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिलाई मौसममा सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न विभागले आग्रह गरेको छ। साथै, विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्नसमेत अनुरोध गरिएको छ।




