काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकार आफ्नो प्रतिबद्धताअनुसार अघि बढ्न नसके राजनीतिक रूपमा सच्याउन आफूहरू तयार रहेको बताएका छन्। सरकार गठन भएको चार महिना मात्र भएकाले अहिले नै असफलताको निष्कर्ष निकाल्न नमिल्ने बताउँदै उनले यस अवधिमा भने नागरिकले अनुभूति गर्ने गरी केही सकारात्मक परिवर्तनको संकेत देखिनुपर्ने धारणा राखे। लामिछानेले सरकार आफ्नो लक्ष्य र कार्यदिशाबाट विचलित भए रास्वपाले आवश्यक हस्तक्षेप गरेर पुनः सही बाटोमा ल्याउने दाबी गरे।
‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ। काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ,’ उनले भने, ‘आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ। तर अहिले त्यो अवस्था आएको छैन र आउन पनि दिँदैनौँ।’ सरकार सञ्चालनका क्रममा आउने अवरोधलाई हवाई यात्राको ‘टर्बुलेन्स’सँग तुलना गर्दै उनले कहिलेकाहीँ उत्पन्न हुने समस्या वा असहज परिस्थितिबाट आत्तिन आवश्यक नरहेको बताए। सरकारलाई निर्धारित गन्तव्यसम्म पुर्याउन आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ छ।
लामिछानेले नागरिकका सुझाव र गुनासालाई रास्वपाले नजिकबाट नियालिरहेको बताए। चार महिनाको अवधिलाई सरकारको पूर्ण मूल्याङ्कन गर्ने पर्याप्त समय मान्न नसकिने भए पनि जनअपेक्षाअनुसार केही उपलब्धिको छनक देखिनुपर्ने उनले बताए। रास्वपामा परिवर्तनको चाहना भएका युवा, विज्ञ तथा विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरू रहेको उल्लेख गर्दै लामिछानेले जटिल परिस्थितिलाई सम्हाल्ने राजनीतिक क्षमता पार्टीसँग रहेको दाबी गरे।
गैरराजनीतिक पृष्ठभूमिबाट आएका पेशेवर तथा विज्ञहरू देश परिवर्तनको उद्देश्यसहित एकजुट हुनु महत्वपूर्ण अवसर भएको उनले बताए। यस्तो समूहलाई राजनीतिक नेतृत्वसँग जोडेर देश निर्माणमा उपयोग गर्नुपर्ने उनको धारणा थियो। ‘अप्ठ्यारो परिस्थितिलाई सम्हाल्न सक्ने राजनीतिक नेतृत्व र जिम्मेवारी हाम्रो पार्टीसँग छ। परिवर्तनका लागि गैरराजनीतिक पृष्ठभूमिका प्रोफेसनलहरूको ठूलो समूह एकजुट भएर अघि बढ्ने चेतना दुर्लभ अवसर हो,’ उनले भने।
लामिछानेले वर्तमान सरकार नागरिककै सरकार भएको दाबी गर्दै इतिहासले दिएको जिम्मेवारी जनतासँगको सहकार्यबाट पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। सरकारलाई सही दिशामा अघि बढाउन आवश्यक खबरदारी गर्दै रास्वपा जिम्मेवार भूमिकामा रहने उनले बताए।




