काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर अवस्थामा पुगेको दाबी गरेका छन्। उनले आफूहरूले सुरुदेखि नै विशेष महाधिवेशन नगर्न सुझाव दिएको स्मरण गर्दै नियमित महाधिवेशनबाटै नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका छन्। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले नियमित महाधिवेशनको समय नजिकिँदै गएको अवस्थामा विशेष महाधिवेशन आयोजना गर्नु उपयुक्त नभएको बताए।
‘हामीले विशेष महाधिवेशन नगरौं, यसले पार्टी कमजोर हुन्छ भनेकै थियौं,’ उनले भने, ‘नियमित महाधिवेशनको समय आइसक्यो। नियमित महाधिवेशनमै जो नेता लोकप्रिय छ, कार्यकर्तालाई रिझाएको छ, उसैले जितेर नेतृत्व गर्छ। त्यसले पार्टी बलियो हुन्छ भनेका थियौं।’ विशेष महाधिवेशनका कारण अहिले कांग्रेस कमजोर हुनुका साथै पार्टी विभाजनको अवस्थामा पुगेको उनको आरोप छ। सिंहले विशेष महाधिवेशनको प्रक्रिया नै वैधानिक नभएको जिकिरसमेत गरे।
उनका अनुसार विशेष महाधिवेशनमा विधि र प्रक्रिया पालना नभएको विषय सर्वोच्च अदालतको पूर्ण इजलासको आदेशबाट समेत स्पष्ट भएको छ। निर्वाचन आयोगले सम्बन्धित पक्षको कुरा नसुनी निर्णय गरेको विषय पनि अदालतको आदेशमा उल्लेख भएको सिंहले बताए।
‘सर्वोच्च अदालतका प्रधानन्यायाधीश सम्मिलित बेञ्चले नै विशेष महाधिवेशनमा विधि प्रक्रिया पालना भएन भनेको छ,’ उनले भने, ‘निर्वाचन आयोगले केही नहेरी, अर्को पक्षको कुरा नसुनी निर्णय गर्यो भनेर आदेश आएको छ।’
कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको अन्तिम निरुपण हुँदा आफ्नो पक्षले न्याय पाउने विश्वाससमेत सिंहले व्यक्त गरे। उनले पार्टीलाई थप कमजोर बनाउने गतिविधिभन्दा विधि, प्रक्रिया र नियमित महाधिवेशनमार्फत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए।




