देश

कांग्रेस बैठकमा सर्वोच्चको आदेशदेखि महाधिवेशन तयारीसम्मका विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठकमा सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दामा दिएको फैसलाको पुनरवलोकन आदेश र त्यसबाट पार्टीको वैधानिकतामा पर्न सक्ने प्रभावबारे छलफल हुने भएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार अदालतको आदेशबारे पार्टीको संस्थागत धारणा तय गर्न बैठकमा छलफल गरिनेछ। सर्वोच्चको पछिल्लो निर्णयले पार्टीको सांगठनिक तथा वैधानिक अवस्थामाथि पार्न सक्ने प्रभावका विषयमा समेत बैठक केन्द्रित हुने उनले बताए।

बैठकमा महामन्त्रीहरूले समसामयिक राजनीतिक परिस्थितिसँगै पार्टीको सांगठनिक कार्यसूची प्रस्तुत गर्ने कार्यक्रम छ। आगामी महाधिवेशनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, आन्तरिक व्यवस्थापन र महाधिवेशनको तयारीलाई थप व्यवस्थित बनाउने विषयमा पनि छलफल हुने प्रवक्ता चालिसेले जानकारी दिए। महाधिवेशनको तयारीसँग जोडिएको क्रियाशील सदस्यता विवाद समाधानलाई कांग्रेसले बैठकको महत्वपूर्ण एजेन्डाका रूपमा अघि सारेको छ। विभिन्न जिल्ला तथा क्षेत्रमा देखिएका क्रियाशील सदस्यतासम्बन्धी उजुरी र विवाद टुंगो लगाउँदै महाधिवेशनका लागि आवश्यक वातावरण निर्माण गर्ने विषयमा छलफल हुने जनाइएको छ।

त्यस्तै, पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउने तथा सबै तहका नेता–कार्यकर्तालाई महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुने वातावरण तयार गर्ने विषयमा समेत बैठकमा छलफल हुनेछ। कांग्रेसले महाधिवेशनलाई लक्षित गर्दै संगठनलाई थप चलायमान बनाउने, विवादित विषय समाधान गर्ने र पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्ने रणनीतिअनुसार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *