काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान जारी भएको एक दशक पुग्न लागेको सन्दर्भमा यसको पुनर्लेखन नभई समीक्षा र आवश्यक परिमार्जन गर्नुपर्ने बताएका छन्।
शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनका क्रममा देखिएका जटिलता र कमजोरीलाई संशोधनमार्फत सुधार गर्नुपर्नेमा जोड दिए।
आङदेम्बेले संविधान कार्यान्वयनको १० वर्षमा आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, थारु तथा अन्य अल्पसंख्यक समुदायले भोगेका समस्या पहिचान गरी आवश्यक संशोधनमार्फत समाधान खोज्नुपर्ने बताए।
लोकप्रियताको नाममा संविधानविरुद्ध भ्रामक अभिव्यक्ति दिने र समाजमा जातीय द्वन्द्व निम्त्याउने प्रवृत्ति बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे। जनभावनासँग खेल्दै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाउँदै यस्ता गतिविधिप्रति आदिवासी जनजाति समुदाय विशेष सचेत हुनुपर्ने उनको भनाइ थियो।
‘हामी अहिले संविधानको पुनरावलोकन गर्ने चरणमा आइपुगेका छौं। यो नयाँ संविधान लेख्ने वा पुनर्लेखन गर्ने विषय होइन, बरु १० वर्षको अभ्यासमा देखिएका कमजोरी सुधार गर्ने प्रक्रिया हो,’ उनले भने।
दशकौं लामो संघर्ष र ठूलो बलिदानपछि संविधान प्राप्त भएको स्मरण गराउँदै उनले आगामी पुस्ताले फेरि अधिकारका लागि उही संघर्ष दोहोर्याउन नपरोस् भन्ने उद्देश्यले प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने बताए।
भावनामा बहकिएर कसैको ‘इमोसनल ब्ल्याकमेल’मा नपर्न आग्रह गर्दै आङदेम्बेले पहिचान र अधिकारको सुनिश्चितता लोकतन्त्र र लोकतान्त्रिक शक्तिबाट मात्रै सम्भव हुने दाबी गरे। उनले नेपाली कांग्रेसले सबै समुदायको अस्तित्व, पहिचान र इतिहासलाई संस्थागत रूपमा संरक्षण गर्न प्रतिबद्ध रहेको विश्वास व्यक्त गरे।
लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि कांग्रेसका कार्यकर्ताहरू एकजुट भएर अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए।




