देश

निर्मला पन्त हत्या प्रकरणबारे प्रश्नको उत्तर दिन गृहमन्त्री गुरुङको अस्वीकार

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी किशोरी निर्मला पन्त हत्या प्रकरणबारे राष्ट्रियसभामा उठाइएको प्रश्नको विस्तृत उत्तर दिन अस्वीकार गरेका छन्।

बिहीबार राष्ट्रियसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान कहाँ पुगेको छ र हत्यारा कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गरेका थिए।

जवाफमा गृहमन्त्री गुरुङले उक्त विषय अत्यन्त संवेदनशील भएकाले सार्वजनिक रूपमा धेरै टिप्पणी गर्न नमिल्ने बताए। उनले अनुसन्धान जारी रहेको उल्लेख गर्दै न्याय सुनिश्चित गर्ने उद्देश्यले सूक्ष्म रूपमा काम भइरहेको बताए।

‘यो विषय एकदमै संवेदनशील छ। आमाको घाउ बारम्बार कोट्याउने कि न्याय दिने भन्ने कुरा पनि सोच्नुपर्छ। हामी सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका छौँ, त्यसैले धेरै कुरा बोल्न मिल्दैन,’ उनले भने।

यसक्रममा गृहमन्त्री गुरुङले सांसद विश्वकर्मालाई ‘तपाईं सत्तामा हुँदा किन गर्नुभएन?’ भन्दै प्रतिप्रश्नसमेत गरेका थिए। उनले निर्मला पन्त प्रकरणबारे संसद्मा बारम्बार प्रश्न नगर्न र आवश्यक परे व्यक्तिगत रूपमा जानकारी लिन आग्रह गरे।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पूरक प्रश्नका लागि समय दिएपछि सांसद विश्वकर्माले प्रश्न सोध्नु आफ्नो संसदीय अधिकार भएको उल्लेख गर्दै हत्यारा कहिले पक्राउ पर्छन् भन्ने प्रश्न पुनः दोहोर्याए।

तर गृहमन्त्री गुरुङले छोटो प्रतिक्रिया दिँदै भने, ‘म यसको उत्तर दिन चाहन्नँ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *