देश

साउन लागेसँगै हरियो चुरा, पोते र मेहन्दीको व्यापारमा उत्साह

काठमाडौं । साउन महिनाको सुरुवातसँगै काठमाडौंका बजारमा हरियो चुरा, पहेँलो पोते र मेहन्दीको व्यापार उल्लेख्य रूपमा बढेको छ। साउनमा हरियो चुरा, पोते र मेहन्दी लगाउने धार्मिक तथा सांस्कृतिक परम्पराका कारण इन्द्रचोक, असन, बागबजारलगायत बजारमा ग्राहकको चहलपहल बढेको हो।

इन्द्रचोकका चुरा व्यवसायी अहमद मुसलमानका अनुसार अन्य समयमा दैनिक ८–१० हजार रुपैयाँको व्यापार हुने गरेकामा पछिल्ला केही दिनयता दैनिक २०–२५ हजार रुपैयाँसम्मको कारोबार हुन थालेको छ।

त्यस्तै, व्यवसायी हसन अन्सारीले पनि साउन सुरु भएसँगै चुरा–पोते खरिद गर्ने ग्राहकको भीड उल्लेख्य रूपमा बढेको बताए। उनका अनुसार विवाहको यामबाहेक साउनमा पनि व्यापार निकै राम्रो हुने गरेको छ।

राजधानीका बजारमा विभिन्न डिजाइन र मूल्यका स्वदेशी तथा आयातित हरियो चुरा र पोते बिक्रीका लागि राखिएका छन्। ब्युटी पार्लरदेखि सडक किनारसम्म महिलाहरू मेहन्दी लगाउन व्यस्त देखिन्छन्।

गोङ्गबुकी सरस्वती दवाडी हरियो चुरा र पोते लगाउनु धार्मिक आस्था मात्र नभई सांस्कृतिक परम्पराको संरक्षण पनि भएको बताउँछिन्। साउनमा महिलाहरू हरियो पहिरन, मेहन्दी र धार्मिक गतिविधिमा सहभागी हुने चलन पछिल्ला वर्षहरूमा झन् लोकप्रिय बन्दै गएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका निवर्तमान कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीका अनुसार माता पार्वतीले भगवान् शिवको आराधना गर्दै हरियो चुरा, पोते र मेहन्दी धारण गरेको धार्मिक विश्वासका आधारमा साउनमा महिलाहरूले यो परम्परा निभाउँदै आएका हुन्।

उनका अनुसार साउन हरियालीको महिना भएकाले प्रकृतिसँगको सामञ्जस्य र सौभाग्यको प्रतीकका रूपमा पनि हरियो चुरा र पोते लगाउने चलन रहेको छ। तीज पर्व नजिकिँदै जाँदा यसको व्यापार अझ बढ्ने व्यवसायीहरूको अपेक्षा छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *