जलश्रोत/उर्जा

गाउँ झिलीमिलीः मुसहर बस्ती भने अँध्यारोमा

जनकपुरधाम । गाउँबस्तीमा उज्यालो नै छ, तर मुसहर बस्तीका मुसहर समुदायका सदस्यहरु भने अँध्यारोमा बस्न बाध्य छन् ।सप्तरीको बोदेबरसाइन नगरपालिका–५ जाँजररस्थित मुसहर समुदायका सदस्यले बिजुली बत्तीको बक्यौता भुक्तानी नगरेकाले विद्युत् प्राधिकरणले लाइन काटिदिएका कारण अँध्यारोमा नै बास्न बाध्य भएका हुन् ।

दसैँमा घर उज्यालो बनाउने, परिवारसँग बसेर खुसी साटासाट गर्ने र चाडपर्व मनाउने रहर सबैको हुन्छ । तर, आर्थिक अवस्था कमजोर भएका कारण विद्युत् महसुल तिर्न नसकेका मुसहर बस्तीका परिवारका लागि यस वर्षको दसैँ अन्धकारमै बितिरहेको छ ।

गाउँका अन्य घरमा बत्तीको उज्यालो देखिए पनि मुसहर बस्तीमा भने रात परेसँगै अँध्यारो छाउने गरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बोदेबरसाइनले लामो समयदेखि विद्युत् महसुल नबुझाएको भन्दै गत असोज १६ गते बस्तीको विद्युत् लाइन काटेको थियो ।

“विद्युत् प्राधिकरणले बिना सूचना एकैपटकमा विद्युत्को लाइन काटिदियो,” स्थानीय रामचन्द्र सदाले भने, “हाम्रो बस्तीका सबैको लाइन काटिएपछि हामी पछिल्लो १५ दिनदेखि अन्धकारमा छौँ ।”

उनका अनुसार दिनको समयमा उज्यालो हुने भएकाले त्यति धेरै समस्या महसुस हुँदैन । तर, रात परेपछि भने सामान्य काम गर्न पनि कठिन हुन्छ । मोबाइलमा उज्यालो बालेर काम गर्नुपर्ने र आवश्यक पर्दा अरूको सहयोग लिनुपर्ने बाध्यता रहेको उनले बताए ।

विद्युत् लाइन काटिएपछि मुसहर बस्तीका स्थानीयलाई मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ । मोबाइल अहिले सञ्चारको माध्यम मात्र नभई दैनिक जीवनको आवश्यक साधन बनेको छ । तर, बस्तीमा विद्युत् नहुँदा मोबाइल चार्ज गर्न अरूको घरमा जानुपर्ने अवस्था रहेको स्थानीय शम्भु सदाले बताए ।

“बस्तीमा विद्युत् नहुँदा मोबाइल चार्ज गर्नसमेत अरूको सहयोग माग्नुपर्छ,” उनले भने । विद्युत् अभावले रातिको समयमा बालबालिकाको पढाइ, घरायसी काम र सञ्चार सम्पर्कमा समेत असर परेको अर्का स्थानीय छेछन सदाको भनाइ छ ।

विद्युत् लाइन काटिएपछि बस्तीका परिवारको दैनिक जीवन थप कष्टकर बनेको छ । दसैँका बेला गाउँका अन्य घरमा बत्ती बल्दा आफ्नो बस्ती अन्धकारमा रहनुपरेको अवस्थाले स्थानीयवासीलाई थप दुःखी बनाएको छ ।

चाडपर्वमा घर उज्यालो बनाउने चाहना भए पनि आर्थिक अभावका कारण उनीहरूले त्यसो गर्न सकोका छैनन् । मुसहर बस्तीका स्थानीयवासीको प्रतिघर रु पाँच हजारदेखि सात हजारसम्म विद्युत् महसुल बक्यौता रहेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उक्त रकम एकमुष्ट बुझाउन नसकेको स्थानीय रामचन्द्र सदाले बताए ।

दैनिक ज्यालामजदुरी तथा सामान्य आयस्रोतमा निर्भर परिवारका लागि एकैपटक हजारौँ रुपैयाँ जुटाउनु चुनौतीपूर्ण बनेको छ । विद्युत् महसुल तिर्नुपर्ने दायित्व रहे पनि आर्थिक अभावका कारण बक्यौता रकम बुझाउन नसकिएको उनको भनाइ छ ।

विद्युत् महसुल तिर्न नसक्नु र विद्युत् सेवाबाट वञ्चित हुनुले गरिब परिवारको जीवनमा थप कठिनाइ सिर्जना गरेको छ । चाडपर्वको समयमा विद्युत् सेवा बन्द हुँदा उहाँहरूको दैनिकीसँगै चाडपर्व मनाउने उत्साहसमेत प्रभावित भएको छ ।

यता, विद्युत् प्राधिकरण वितरण केन्द्र बोदेबरसाइनका प्रमुख अनिल चौधरीले लामो समयदेखि स्थानीयवासीले विद्युत् महसुल नबुझाएका कारण लाइन काटिएको बताए । उनका अनुसार विद्युत् लाइन पुनः जडानका लागि हालसम्म बस्तीका कोही पनि सम्पर्कमा आएका छैनन् । प्राधिकरणले विद्युत् उपभोग गरेबापतको महसुल बुझाउनुपर्ने बताउँदै आएको छ । अर्कोतर्फ, आर्थिक रूपमा कमजोर परिवारले एकैपटक बक्यौता रकम बुझाउन नसक्दा विद्युत् सेवाबाट वञ्चित हुनुपरेको अवस्था छ ।

विद्युत् महसुल उठाउने दायित्व प्राधिकरणको भए पनि आर्थिक रूपमा कमजोर परिवारको समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने प्रश्नसमेत यस घटनाले उठाएको छ । एकातिर विद्युत् महसुल तिर्नुपर्ने दायित्व छ भने अर्कोतिर कमजोर आर्थिक अवस्थाका कारण रकम जुटाउन नसक्दा अँध्यरोमानै बस्न बाध्य हुनुपरेको छ । दसैँका बेला गाउँबस्ती उज्यालो भइरहँदा मुसहर बस्तीमा अन्धकार कायम रहनुले आर्थिक अभावले निम्त्याएको समस्यालाई उजागर गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *