देश

चितवनका कैदीबन्दीलाई दसैँको उत्साह छैन

चितवन । विगतका वर्षमा दसैँ उत्सवका रूपमा मनाउँदै आएका कारागारका कैदीबन्दीहरूमा अहिले उत्साह देखिँदैन । गत भदौ १० गते आएको भोटेकोशी बाढीका कारण देश शोकमा रहेकाले पनि कारागार कैदीहरूमा उत्साह छैन ।

विगत १५ वर्षदेखि कारागारमा कैद जीवन बिताउँदै आएका पदमबहादुर थारू (नाम थर परिवर्तित) अघिल्ला वर्षहरूको जस्तो उत्साह दसैँमा नभएको बताउँछन् । उनले भने “अघिल्ला वर्षहरूमा दसैँमा जस्तो रमाइलो गर्ने सोचमा हामी छैनौँ ।” यो वर्ष शुद्ध शाकाहारी तरिकाले दसैँ मनाउने योजना रहेको उनले जानकारी दिए ।

अघिल्ला वर्षहरूमा विभिन्न किसिमका खेलकुद, सांस्कृतिक कार्याक्रम तथा सामूहिक भोज जस्ता कार्यक्रमहरू हुने गरेको भए पनि यस वर्ष त्यस्तो नहुने अर्का कैदी कृतन शर्मा (नाम थर परिवर्तित) बताउँछन् । अघिल्ला वर्षहरूमा सामूहिक भोजका लागि राँगा, कुखुरा, बोका, खसीलगायत पशु चौपाया ल्याएर काट्ने गरिएको भए पनि यस वर्ष त्यस्तो नगरिने उनले बताए ।

उनले भने “कसैले व्यक्तिगत रूपमा खान्छ भने खाउन तर सामूहिक रूपमा हुने काम हुँदैन यो वर्ष ।” टीकाको तीन दिन घरपरिवारसँग बसेर टीका लगाउनेबाहेक अन्य कार्यक्रमहरू नगर्ने उनले जानकारी दिए । कारागारभित्र आएपछि सबै साथीहरू आफ्नै परिवार जस्तो लाग्ने भन्दै उनले बाहिर हुँदाभन्दा यहाँ भित्र फरक किसिमको रमाइलो पाएको बताए ।

अघिल्ला वर्षहरूमा यहाँ बसेर दसैँ मनाउँदा पनि त्यस्तो खासै घरको याद नआएको उनको भनाइ छ । अहिले पहिलेको जस्तो नगर्ने मनस्थितिमा कारागारको आन्तरिक प्रशासन पुगेको छ । अघिल्ला वर्षहरूमा दसैँको बेलामा नाचगान गर्ने गरिएकामा कारागारका दिदीबहिनीहरू यस वर्ष नाचगान गर्ने सोचमा छैनन् ।

उनीहरू आन्तरिक रूपमा कुनै कार्यक्रम गर्ने पक्षमा नभए पनि टीकाको दिन परिवारसँग टीका थाप्ने योजनामा रहेका छन् । विगत १० वर्षदेखि कैद जीवन बिताउँदै आउनुभएकी उर्मिला सुब्बा (नाम थर परिवर्तित) अहिलेको दसैँ बाढीपहिरोले लगेको बताउँछन् ।

देश नै शोकमा रहेको समयमा उत्साहसहित दसैँ मनाउने सोच आफूहरूमा नरहेको उनले बताए । अहिले कारागार कार्यालयमा ७३९ जना कैदीबन्दी रहेका छन् । जसमध्ये ४६ महिला र ६९३ पुरुष रहेका छन् ।

कारागार कार्यालय चितवनका सूचना अधिकारी चेतनाथ ढुङ्गाना अहिले कारागार प्रशासन र आन्तरिक प्रशासनले दसैँलाई उत्साहका साथ नमनाउने योजना बनाएको बताए । आम नेपालीलाई उमङ्ग नभएको समयमा यहाँ रहेका कैदीबन्दीहरूलाई पनि नरमाइलो लागेको उनले बताए । अहिले सबैले सामान्य तरिकाले मनाउने योजना बनाएको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *