काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्यले नागरिकको आवाज दबाएर अधिनायकवादी शैलीमा शासन सञ्चालन गर्न खोजेको आरोप लगाएका छन्।
४४औँ बीपी स्मृति दिवसको तयारीका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको वृहत् छलफललाई सम्बोधन गर्दै उनले सञ्चारगृह, राजनीतिक दलका नेताको निवास तथा व्यवसायिक क्षेत्रअगाडि गाडी राखेर नागरिकलाई त्रसित बनाउने कार्य अस्वीकार्य भएको बताए।
थापाले बीपी कोइरालाले राणा शासनका बेला नागरिकलाई सत्तामाथि प्रश्न गर्ने अधिकार स्थापित गरेको स्मरण गर्दै अहिले पनि नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने कुनै अधिकार राज्यलाई नरहेको बताए।
उनले नेताको घर, सञ्चारमाध्यमका कार्यालय र व्यवसायिक प्रतिष्ठानअगाडि गाडी तेर्स्याएर नागरिकको निजी सम्पत्ति, व्यवसाय र सुरक्षामा असर पुर्याउने कार्य लोकतान्त्रिक मूल्यविपरीत भएको उल्लेख गरे। स्थानीयवासीका अनुसार गाडी राख्न आएका व्यक्तिहरू सरकारी गाडी चढेर फर्किएको जानकारी आफूले पाएको दाबी पनि उनले गरे।
सभापति थापाले सुकुम्बासी समस्या र राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको घटनाबारे दल र सञ्चारमाध्यमले प्रश्न उठाउन थालेपछि सरकारले यस्ता गतिविधि गरिरहेको आरोप लगाए। उनले सुकुम्बासी समस्यालाई कांग्रेसले दलीय मुद्दा नबनाउने स्पष्ट पार्दै कानुनी समाधान खोज्न नसकेर सरकारले नै समस्या जटिल बनाएको बताए।
सरकार नागरिकको अभिभावक र संरक्षक बन्नुपर्नेमा मानव जीवनको संरक्षणप्रति संवेदनशील हुन नसकेको उनको टिप्पणी थियो।
यसै अवसरमा सभापति थापाले कांग्रेसको ‘जरा अभियान’ साउन ६ गते सम्पन्न हुने र त्यसको भोलिपल्ट अर्थात् साउन ७ गतेदेखि भदौ २४ सम्म सञ्चालन हुने नयाँ अभियान घोषणा गरिने जानकारी दिए। कांग्रेस अब घटना भएपछि मात्र प्रतिक्रिया दिने पार्टी नभई सम्भावित नागरिक समस्यालाई समयमै उठाउने अभियानमा केन्द्रित हुने उनले बताए।
कार्यक्रममा कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले ४४औँ बीपी स्मृति दिवसका अवसरमा साउन ६ गते पाँच किलोमिटर ‘ग्रिन रन’, चित्रकला प्रतियोगिता र संवाद कार्यक्रम आयोजना गरिने जानकारी दिए। उनका अनुसार यस वर्ष बीपी स्मृति दिवस जलवायु परिवर्तन र त्यसका प्रभावलाई मुख्य विषय बनाएर मनाइनेछ।
शर्माले साउन ७ गते राष्ट्रिय सभागृहमा विचार गोष्ठी आयोजना गरिने जानकारी दिँदै प्रतिष्ठानअन्तर्गत गठन गरिएका ३० वटा विषयगत समितिको गतिविधिबारे पनि जानकारी गराएका थिए।
छलफलमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, भ्रातृ संस्थाका अध्यक्ष, काठमाडौं उपत्यकाका जिल्ला सभापति तथा प्रतिष्ठानका सदस्यहरूको सहभागिता रहेको कांग्रेसले जनाएको छ।





