देश

गणेश नेपालीले आत्मदाह गरेको घटनाको छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राइड–सेयरिङ चालक गणेश नेपालीको आत्मदाह र उपचारका क्रममा भएको मृत्युको घटनाबारे निष्पक्ष, गम्भीर र तथ्यपरक छानबिन गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै आङ्देम्बेले राज्यका निकायबाट हुने दुर्व्यवहार र प्रताडनाले नागरिकलाई आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य बनाएको आरोप लगाउँदै घटनाको वास्तविक कारण सार्वजनिक गर्नुपर्ने बताए।

उनले गणेश नेपालीका परिवारले नगर प्रहरीबाट भएको प्रताडनाका कारण उनी मानसिक तनावमा रहेको जानकारी दिएको उल्लेख गर्दै अनुसन्धानबाट सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरे।

“महानगर प्रहरीले गर्ने प्रताडनका कारण गणेश नेपाली पीडामा रहेको र त्यसकै कारण डिप्रेसनमा रहेको परिवारको कुरा आएको छ। घटनाबारे अनुसन्धान भइरहेको होला र सत्यतथ्य बाहिर आउला,” उनले भने।

आङ्देम्बेले पछिल्लो समय राज्यका निकायले श्रम गरेर जीविकोपार्जन गर्ने नागरिकप्रति गर्ने व्यवहार चिन्ताजनक बन्दै गएको टिप्पणी गरे। राज्यको दायित्व श्रमिक र मेहनतकश नागरिकको संरक्षण गर्नु भए पनि व्यवहार त्यसको विपरीत देखिएको उनको भनाइ छ।

उनले गणेश नेपालीले जीवित रहँदासम्म आफूलाई प्रताडना भएको कुरा परिवारलाई बताएको उल्लेख गर्दै त्यसको गम्भीर अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरे।

राइड–सेयरिङ चालकहरू स्वरोजगारमार्फत परिवार पालिरहेका श्रमिक भएको उल्लेख गर्दै उनीहरूमाथि हुने दुर्व्यवहार अस्वीकार्य रहेको आङ्देम्बेको भनाइ छ। सडक किनारामा मोटरसाइकल पार्किङ गरेको विषयलाई लिएर श्रमिकमाथि अपमानजनक व्यवहार गर्नु उचित नहुने उनले बताए।

आङ्देम्बेले गणेश नेपाली प्रकरणको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा राइड–सेयरिङ चालकहरूमाथि हुने दुर्व्यवहार रोक्न प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *