देश

दुर्गम जिल्लामा मतदान प्रक्रिया , हेलिकप्टरमार्फत मतपेटिका संकलन गर्ने तयारी

काठमाडौं । आगामी निर्वाचनका लागि देशका दुर्गम र विकट क्षेत्रका मतदान केन्द्रमा मतपेटिका सुरक्षित रूपमा पुर्‍याउन निर्वाचन आयोगले विशेष तयारी थालेको छ। हिमाली र पहाडी जिल्लामा हेलिकप्टरको प्रयोग गरी मतपत्र र मतदान कर्मचारीसम्म पुगाउने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार, हुम्ला र डोल्पाका २७ अति दुर्गम मतदान केन्द्रमा मतदान अगावै मतपत्र, कर्मचारी र सुरक्षाकर्मी हेलिकप्टरमार्फत पठाइसकिएको छ। यसमा डोल्पाका २३ र हुम्लाका ४ स्थान रहेको जनाइएको छ ।

मतदान पछि पनि देशका १५ जिल्लाका ६१ दुर्गम स्थानबाट मतपेटिका हेलिकप्टरमार्फत संकलन गरिनेछ। सचिव राउतले भने,
“हामीले हुम्ला र डोल्पा जिल्लाका २७ स्थानमा मतदान सामग्री पठाइसकेका छौं। थप १५ जिल्लाका ६१ दुर्गम स्थानबाट पनि मतदानपछिका ब्यालेट बक्सहरू हेलिकप्टरमार्फत संकलन हुनेछ।”

सडक पहुँच भएका स्थानमा भने परम्परागत सवारी साधन प्रयोग गरिनेछ। आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मतपेटिका ढुवानीका लागि आवश्यक बजेट उपलब्ध गराइसकेको छ। प्रत्येक जिल्ला प्रशासन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा निकायसँग समन्वय गर्दै १६५ मतगणना स्थलमा मतपेटिका सुरक्षित रूपमा पुर्‍याइनेछ। देशमा नागरिकहरु मात्र उत्साहित भएका छैनन्, उम्मेदवार, नेता तथा कार्यकर्ताहरु आम नागरिकहरुले शान्तिपूर्ण र पारदर्शी रुपमा निर्वाचन होस भन्ने चाहेका छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *