काठमाडाै । आगामी निर्वाचन नजिकिँदै जाँदा देशका विभिन्न स्थानमा बम र शंकास्पद वस्तु फेला परेका घटनाले सुरक्षा चुनौती थपिएको छ। मौन अवधिमा उम्मेदवार पक्राउदेखि शंकास्पद वस्तु निष्क्रिय पार्ने क्रम जारी छ।
पर्सामा प्रहरीले नौ थान सुतली बम, सुँगुरको टाउको र तारसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेकपाका उम्मेदवार मनोजकुमार चौधरीसहित अन्य तीन जना रहेका छन्। बा.१० च १२५० नम्बरको गाडीमा फेला परेका विस्फोटक सामग्रीबारे प्रहरीले विष्फोटक पदार्थ सम्बन्धी कसूर, सार्वजनिक शान्ति विरुद्धको कसूर तथा निर्वाचन कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ। यसैबीच, वीरगञ्ज महानगरपालिका–१६ स्थित एक मस्जिदमा सुँगुरको टाउको फाल्ने तथा सुतली बम पड्काउने योजना बनाएको आरोपमा तीन जना पक्राउ परेका छन्। उनीहरूलाई धार्मिक सद्भाव भड्काउने प्रयास गरेको अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सिरहामा नगदसहित जसपा उम्मेदवार पक्राउ
सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादव नगदसहित पक्राउ परेका छन्। नेपाल–भारत सीमाबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको स्कारपियो गाडी चेकजाँचका क्रममा रोक्दा चार लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ र आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी गरिएको छ।
धनुषा र महोत्तरीमा शंकास्पद वस्तु विस्फोट
मगलबार धनुषाको मिथिला नगरपालिका–१० नजिक रातो पुल क्षेत्रमा राखिएको शंकास्पद वस्तु पड्किँदा दुई जना घाइते भएका थिए । घाइतेहरूको उपचार भइरहेको छ। घटनास्थलमा अर्को शंकास्पद वस्तु फेला परेपछि सुरक्षा घेरा कडा बनाइएको छ। यसअघि महोत्तरीको बर्दीबास क्षेत्रमा पनि शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो। निर्वाचनको संवेदनशील समयमा बम राख्ने, धार्मिक भावना भड्काउने र त्रास सिर्जना गर्ने गतिविधि बढेको आशंकामा सुरक्षा निकायले देशभर निगरानी र चेकजाँच तीव्र बनाएको जनाएको छ। मुख्य स्थान, पुल, सरकारी कार्यालय तथा भीडभाड हुने क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ। सर्वसाधारणलाई शंकास्पद वस्तु नछुन र देखेमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरिएको छ। निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने प्रतिबद्धतासहित सुरक्षा संयन्त्र सतर्क अवस्थामा रहेको जनाइएको छ।




