देश

देश जलाउने शक्तिलाई पछि पादैं लोकतन्त्र बचाउने चुनावी निर्णायक मोडमा राजनैतिक दल

काठमाडौं । गत भदौ २३–२४ को हिंसात्मक आन्दोलन र संसद् भवन जलाउने प्रयासका केन्द्रमा रहेका शक्तिहरू अहिले चुनावी मैदानमा प्रवेश गरेका छन्। जनताको लामो संघर्ष र लोकतान्त्रिक उपलब्धिलाई ठाडो चुनौती दिएको यो समूह, अब डिजिटल प्रविधि र पैसाको व्यापक प्रयोग गर्दै निर्वाचन जित्ने होडमा लागेको देखिन्छ। राजनीतिक विश्लेषकहरूको चेतावनी छ, यसलाई नजरअन्दाज गर्दा देश पुनः ठूलो दुर्घटनाको अवस्थामा पुग्न सक्छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, हामि नेपालका संयोजक तथा ‘जेनजी’को नामले चिनिने सुदन गुरु र रास्वपा लगायतका दलका प्रतिनिधिहरू, जो भदौ २३–२४ मा हिंसात्मक आन्दोलन र संसद् भवन जलाउन उक्साउने प्रत्यक्ष अभियन्ता थिए, अहिले प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेका छन्। उनीहरूमाथि डिजिटल प्रचार र पैसाको अवैधानिक परिचालनको आरोप पनि व्यापक रूपमा उठाइएको छ।

यसैबीच, नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशनमार्फत पार्टीलाई एकपक्षीय ढाँचामा सञ्चालन गर्दै आफू नजिकका उम्मेदवारहरूलाई टिकट दिएका छन्। उनीहरूले पुराना नेता र अनुभवी सांसदलाई चुनावी मैदानबाट बहिष्कृत गर्ने रणनीति अपनाएका छन्। विश्लेषकहरूका अनुसार, यस्तो कार्यप्रणाली लोकतन्त्रका लागि घातक हुनसक्छ, किनभने यो केवल व्यक्तिगत फाइदा र गुटीय राजनीतिमा केन्द्रित छ, राष्ट्रिय हित र लोकतान्त्रिक संरचनाको संरक्षणमा होइन।

हाल गगन थापा सर्लाही–४ बाट प्रधानमन्त्री पदको दाबेदारका रूपमा उठेका छन् . थापालाई सोही क्षेत्रमा कांग्रेसबाट रास्वपा प्रवेश गरेका ,रास्वपाबाट उम्मेदवार बनेका अमरेश कुमार सिंहले थापालाई चुनौती दिदैँ आएका छन् ।  यस्तै  बालेन शाह झापा–५ बाट प्रधानमन्त्रीको होडमा छन्। उता चितवन–२ बाट सहकारी घोटाला, नागरिकता पासपोर्ट र अन्य वित्तीय तथा प्रशासनिक काण्डमा मुछिएका रास्वपा सभापति रवि लामिछाने पनि प्रतिस्पर्धामा छन्। झापा–५ बाट पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली निर्वाचित उम्मेदवारका रूपमा रहेका छन्। विश्लेषकहरूले उनीहरूलाई जिताउनुपर्ने आवश्यकता अहिले नेपाली जनतामाझ बढी देखिएको उल्लेख गरेका छन्, जसले संविधान, राष्ट्रियता र विकासको उच्च दृष्टिकोणलाई प्राथमिकता दिने नेता हुन। यस्तै भक्तपुर क्षेत्र २ दुईबाट गृहमन्त्रीको उम्मेदवार एमाले सचिव महेश बस्नेत उठेका छन् । उनलाई चुनौती दिन रास्वपाबाट टिकट पाएका ,पत्रकार पेशाबाट उदायएका राजीव खत्री लगायतका उम्मेदवार छन् । तर महेश बस्नेतलाई सबैले जिताउनुपर्ने भन्दै अभियान चलाएका छन् ।महेश बस्नेतले सो क्षेत्रका विगतदेखि नै र विशेषगरी जनजी आन्दोलनमा जनतालाई बोल्ने आँट प्रदान गरेका थिए । त्यसपछि बस्नेतको चौतर्फी प्रंशसा हुने गरेको छ ।

राजनीतिक विश्लेषकहरूले चेतावनी दिएका छन् कि आगामी निर्वाचनमा जनता सचेत भएर लोकतन्त्रलाई सशक्त बनाउने उम्मेदवारलाई मात्र भोट दिए सुरक्षित हुनेछ। अन्यथा, देश पुनः हिंसा र राजनीतिक अस्थिरतामा फस्ने सम्भावना उच्च छ। डिजिटल प्रचार, पैसाको अति प्रयोग र गुटीय राजनीति, लोकतन्त्रको अस्तित्वमा प्रत्यक्ष चुनौती प्रस्तुत गरिरहेको वर्तमान परिस्थितिमा, जनता र राजनीतिक दलहरूको सजगता अत्यन्तै आवश्यक छ। गत भदौको हिंसात्मक आन्दोलनले देशको राजनीतिक स्थायित्वमा ठूलो चोट पुर्‍याएको छ। चुनावी मैदानमा हिंसात्मक गतिविधिमा सहभागी पात्रहरूको प्रवेश लोकतन्त्र र संविधानको मूल आधारमाथि संकट सिर्जना गर्न सक्छ। जनता र पार्टीहरूले सचेत भएर लोकतान्त्रिक मूल्य र राष्ट्रिय हितको पक्षमा उम्मेदवारलाई समर्थन गर्नु आवश्यक छ, ताकि देश पुनः ठूलो राजनीतिक दुर्घटनाबाट जोगिन सकोस्। यो विश्लेषणले स्पष्ट देखाउँछ कि आगामी निर्वाचन केवल मत दिने प्रक्रिया मात्र होइन, देशको भविष्य सुरक्षित राख्ने निर्णायक मोड़ बन्ने छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *