राजनीति

दबाब र बदलाको राजनीतिमा गगन थापा

काठमाडौ । नेपाली कांग्रेसभित्र “पुस्तान्तरण” र “समावेशी नेतृत्व” को भाषण गरेर सभापति बनेका गगन थापामाथि अहिले आफ्नै निर्णयले गम्भीर प्रश्न उठ्न थालेको छ। प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा उनले देखाएको व्यवहारलाई पार्टीभित्रै धेरैले लोकतान्त्रिक अभ्यास होइन, शक्ति केन्द्रित र बदलाको राजनीतिका रूपमा व्याख्या गर्न थालेका छन्।

पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनबाट सभापति बनेका थापाले निर्वाचनको मुखमा उम्मेदवार छनोटलाई आन्तरिक सहमति र सन्तुलनको विषय बनाउनुको साटो आफ्नै गुट सुदृढ गर्ने हतियारका रूपमा प्रयोग गरेको आरोप लागिरहेको छ। तथ्यांकले नै देखाउँछ—उनले प्रत्यक्षतर्फ झण्डै दुई तिहाइ सिटमा आफ्ना निकटलाई अघि सारेका छन्। यसरी कांग्रेसभित्र नै गुलाफको फूल र तीरको बाण चलाउनुले आगामी दिनमा गगन थापाले स्थापित गर्न खोजेको मानक कस्तो बन्ला ? विगतमा १४ औँ महाधिवेशनबाट निर्वाचन सभापतिलाई सडकमा झार्न कै लागि बोली बन्द गराउन देउवाको मुखका टेब लगाएर अघि बढेका थापाले अहिले पार्टीमा राज गर्न थालेको टिप्पणी उठ्न थालेको छ ।

सर्लाही ४ बाट उम्मेदवारी दिएका गगनलाई कांग्रेसबाट रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका अमरेश कुमार शर्माले नै प्रधानमन्त्रीको दाबेदार गगन हुन नसक्ने टिप्पणी सार्वजनिक गरेका छन् , यस्तै कांग्रेस संस्थापन पक्षका नेताहरुले पनि गगन थापाको कार्यशैली आगामी दिनमा लोकतान्त्रिक भन्दा बढी निरङकुस्ता बन्न सक्ने भन्दै आलोचना गर्न थालेका छन् । अहिले सामाजिक संजालमा ,चिया पसलमा र गाउँदेखि टाउनसम्म सो कुरा उठान भएको छ । उनीहरुको त्यस्ता भेलामा कांग्रेसलाई पेलेर एक पक्षीय भेलाबाट निरकुस्ताशैलीमा बनेको सभापति जस्तो भएको टिप्पणी गर्न थालेका छन् । नेपाली कांग्रेसबाट पटक–पटक प्रधानमन्त्री तथा सभापति बनेका शेरबहादुर देउवालाई निर्वाचनमा समेत लड्न नदिने रणीतिका साथ काम गरेपछि गगनको झनै तानशाही प्रवृति भएको चित्रण भएको छ । विशेष महाधिवेशन एकपक्षीय भेला र निर्वाचन आयोगको आदेशमा सभापति बनेका गगन थापा अहिले आलोचनाको केन्द्रमा छन् ।

गुटीय हिसाब–किताबले च्यापिएको कांग्रेस

प्रतिनिधिसभाका १६५ सिटमध्ये थापा पक्षका उम्मेदवार ७३ प्रतिशत पुगेका छन्। शेरबहादुर देउवा समूह १९ प्रतिशत र शेखर कोइराला समूह ८ प्रतिशतमा सीमित छन्। पार्टीभित्र दशकौँदेखि कायम शक्ति सन्तुलनलाई एकैपटक उल्ट्याउने यो अभ्यासलाई धेरैले सुधार होइन, अधिनायकवादी शैली भनेर टिप्पणी गरेका छन्।

समानुपातिक सूची र राष्ट्रियसभा निर्वाचनमा आफू ‘पेलिएको’ अनुभूति गरेका थापाले प्रत्यक्षतर्फ बदला लिएको आरोप अझ चर्को छ। समानुपातिकतर्फको सांसद संख्याको हिसाब–किताब मिलाउन प्रत्यक्षमा आफूनिकट उम्मेदवार खडा गरिएको बुझाइ कांग्रेसभित्र व्यापक छ।

प्रदेश–प्रदेशमा देखिएको एकलौटी प्रवृत्ति

प्रदेशगत विश्लेषण गर्दा थापाको पकड झनै स्पष्ट देखिन्छ।

कोसीमा २८ मध्ये १७ सिट थापा पक्षले लिएको छ।

मधेसका ३२ सिटमध्ये २१ सिट आफ्ना मानिसलाई।

बागमतीमा त झण्डै क्लिन स्वीप—३३ मध्ये २९ सिट।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पनि थापा पक्ष बहुमतमा छ।

यो वितरणले देखाउँछ, उम्मेदवार छनोट नीति, क्षमता वा स्थानीय लोकप्रियतामा होइन, सभापतिको निकटता मा आधारित भएको छ।

नयाँलाई अवसर कि गुट विस्तार?

कांग्रेसले १०६ जना नयाँ उम्मेदवारलाई अवसर दिएको दाबी गरिरहेको छ। तर आलोचकहरू भन्छन्—यी नयाँ अनुहार पनि अधिकांशतः थापा निकट हुन्। विगतमा चुनाव जितेका ३१ सांसदलाई टिकट नदिनु र केही स्थापित नेताहरूलाई योजनाबद्ध रूपमा पाखा लगाइनु पार्टी एकताको संकेतभन्दा गुटीय प्रभुत्वको उदाहरण बनेको छ।

महिला सहभागितामा पनि प्रश्न

११ जना महिला उम्मेदवार मैदानमा पठाइएको छ, जुन संख्यात्मक रूपमा उपलब्धि जस्तो देखिए पनि निर्णय प्रक्रिया विवादरहित छैन। २०७९ मा निर्वाचित एक्ली महिला सांसद सीता गुरुङलाई नै दोहोर्याइनु नपर्नुले महिला सहभागिता पनि रणनीतिक छनोटको शिकार भएको आरोप लागेको छ।

नेतृत्वको परीक्षा कि कांग्रेसको संकट?

गगन थापा आफूलाई “नयाँ राजनीतिक संस्कार” को प्रतिनिधि मान्छन्। तर उम्मेदवार छनोटमा देखिएको व्यवहारले उनलाई पुरानै शक्ति राजनीतिमा फसेको नेताका रूपमा प्रस्तुत गरिरहेको छ। कांग्रेसजस्तो ठूलो दलमा बहस, सहमति र समावेशिताको विकल्प मनपरी र बदला हुन सक्दैन भन्ने चेतावनी पार्टीभित्रैबाट उठ्न थालेको छ।

अब प्रश्न स्पष्ट छ—यो रणनीतिले थापालाई अल्पकालीन रूपमा बलियो बनाउला, तर के यसले कांग्रेसलाई दीर्घकालीन रूपमा एकताबद्ध र चुनावी रूपमा सक्षम बनाउँछ? वा गुटीय राजनीतिले फेरि पार्टीलाई आन्तरिक संकटतर्फ धकेल्दैछ? यही प्रश्नको उत्तर आगामी निर्वाचनले मात्र होइन, कांग्रेसको भविष्यले पनि दिनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *