देश

समलिङ्गी र तेस्रोलिङ्गी छ जनाले गराए प्रत्यक्ष निर्वाचनमा उम्मेदवार दर्ता

काठमाडौँ । समलिङ्गी विवाह दर्ता गरेर दक्षिण एसियाकै पहिलो जोडी बनेका समलिङ्गी सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

समावेशी समाजवादी पार्टीमा आबद्ध भएका सुरेन्द्रले आज काठमाडाँै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका हुन् । उनले विवाह दर्ताको प्रमाणपत्र पेस गरी उम्मेदवार दर्ता शुल्कमा ५० प्रतिशत छुटसमेत पाएको बताएका छन् ।

दुई वर्षअघि कावासोती नगरपालिका–८, नवलपरासी पूर्वका सुरेन्द्र र दोर्दी गाउँपालिका–२ लमजुङका रामबहादुर गुरुङ (माया)ले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट कानुनी रूपमा विवाह गर्ने दक्षिण एसियाकै पहिलो जोडी बनेको थियो ।

समलिङ्गी र लैङ्गिक अल्पसङ्ख्यकको पक्षमा निरन्तर अभियान चलाउँदै आएका सुरेन्द्रले रूपान्तरणको लागि राजनीतिमा होमिनुबाहेकको विकल्प नदेखेको बताए । “चुनौती भरिएको समाजमा उम्मेदवारी गर्दा गर्ने आँट गर्नु पनि आफैँमा जित हो । अब जनताको मन जित्नु छ, फरक काम गरेर देखाउनुछ ।”

समावेशी समाजवादी पार्टीबाट देशभर समलिङ्गी र तेस्रो लिङ्गी गरी छ जनाले उम्मेदवार दर्ता गरेका छन् । जसमा सुरेन्द्र, काठमाडाँै, क्षेत्र १, देवेन्द्रबहादुर खत्री(मधु) रूपन्देही–२, तेस्रो लिङ्गीमा नुमा लिम्बू, मोरङ–४, पिङ्की राई, ओखलढुङ्गा १, र विनोद लामा (कोनिका, काभ्रे–१ बाट उम्मेदारवी दिएका छन् ।

यसअघि विसं २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा नेकपा(संयुक्त) ले समानुपातिकमा सुनीलबाबु पन्तलाई सांसद बनाएको थियो । यसपछि प्रतिनिधिसभा सदस्यको लागि संसद्मा पुग्ने समलिङ्गी समुदायका प्रतिनिधि शून्यजस्तै छन् ।

सुरेन्द्रले संसद्मा पुगेर अब आफ्नो समुदायको लागि मात्रै नभई समग्रह समाज र जनताको हितको लागि काम गर्ने योजना रहेको बताए । संसद् समावेशी बनाउनुपर्ने उनको धारणा छ । उनी भन्छन्, “हाम्रो आवाज संसद्मा कसैले बोलेनन्, अब आफैँ पुग्नुबाहेक विकल्प छैन भनेर उम्मेदवारी दिएकोछु ।” आगामी प्रतिनिधिसभा निर्वाचका लागि समावेशी समाजवादी पार्टीले देशभर तेस्रो लिङ्गी र समलिङ्गी गरी छ जनाले उम्मेदवार दिएका छन् ।

पार्टीका अध्यक्ष नुमा लिम्बूका अनुसार जहिले पनि राजनीतिक दलले समलिङ्गी, लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आश्वासन दिने र प्रयोग गर्ने मात्रै भएकाले अबको निर्वाचनमा आफैँले पार्टी खालेर निर्वाचनमा होमिले आँट गर्नुपरेको बताए । उनले मोरङ–४ बाट उम्मेदवार दर्ता गराइसकेको र अब राजनीतिकबाटै आफ््ना दबिएका आवाज बुल्न गर्ने धारणा राखे । उनका अनुसार प्रत्यक्षतर्फ छ जना समलिङ्गी र तेस्रोलिङ्गी समुदायकाले उम्मेदवार दिनुभएको छ भने पार्टीको समानुपातिकमा महिला र पुरुषसमेत १५ जना पारेका छन् । उनले भने, “हामी सधैँ पार्टीको आशमा बस्यौँ, अब आफैँले संसद्मा आवाज पुर्‍याउँछौँ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *