राजनीति

लोकतन्त्रको जग सबल बनाउन दल सुदृढ र सक्रिय हुनुपर्छः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक दलहरू सुदृढ नहुने हो भने लोकतान्त्रिक व्यवस्था पनि कमजोर हुँदै जाने चेतावनी दिएका छन्।

दाङको घोराहीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले लोकतन्त्रलाई मजबुत बनाउने एकमात्र उपाय नियमित र निष्पक्ष निर्वाचन भएको उल्लेख गरे। आवधिक निर्वाचनले जनताको विश्वास कायम गर्ने र लोकतान्त्रिक पद्धतिलाई सबल बनाउने उनको धारणा थियो।

उनले गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका घटनाहरू असामान्य रहेको टिप्पणी गर्दै प्रहरी र अदालत जस्ता संवैधानिक संस्थामाथि भएको आक्रमणले राज्य व्यवस्था नै कमजोर बनाउने बताए। “विखण्डनले राष्ट्र कमजोर हुन्छ, एकता र स्थायित्वबाट मात्रै समृद्धिको बाटो खोलिन्छ,” पोखरेलले भने।

महासचिव पोखरेलले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार गराइएका कैदीबारे निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए। साथै, सबै राजनीतिक दलहरूलाई जनताबीच निर्बाध रूपमा पुग्ने वातावरण राज्यले सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा उनले नेकपा एमाले आगामी निर्वाचनमा देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारीमा रहेको जानकारी पनि दिए। लोकतन्त्र, शान्ति सुरक्षा र कानुनी राज्यको संरक्षणमा एमाले गम्भीर रहेको उनको दाबी थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *