राजनीति

‘दास’ आरोपको प्रतिवाद गर्दै पोखरेलः संकटको घडीमा स्पार्टाकस जन्मिन्छन्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति तीखो प्रतिवाद गर्दै आफूहरूलाई ‘दास’ नभई समयका ‘स्पार्टाकस’ भएको दाबी गरेका छन्।

आइतबार नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री थापाले एमालेतर्फ संकेत गर्दै कांग्रेस ‘लास र दासहरूको पार्टी नभएको’ टिप्पणी गरेपछि राजनीतिक वृत्तमा बहस चर्किएको थियो। सोही अभिव्यक्तिको जवाफ पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन्।

पोखरेलले लेखेका छन्, “देश जलिरहेको बेला उत्सव मनाउन नसक्नेहरू कसै–कसैलाई ‘दास’ जस्ता लाग्न सक्छन्। तर इतिहासले देखाएको छ—यिनै तथाकथित दासहरू नै समय आएपछि स्पार्टाकस बन्छन्।” उनका अनुसार ती स्पार्टाकसहरू स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर नयाँ विश्वव्यवस्थाको आधार निर्माण गर्ने साहसी पात्र हुन्।

उनले विध्वंस, अराजकता र आतंकका सामु आत्मसमर्पण गर्नु कायरता भएको उल्लेख गर्दै त्यसको विरुद्ध उभिएर जनताको मनोबल बढाउनु नै वास्तविक साहस भएको बताए। संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको अवस्थामा उत्सव मनाउने सोच नै प्रश्नयोग्य भएको पोखरेलको तर्क छ।

“भूराजनीतिक स्वार्थका अगाडि लम्पसार पर्नु दासता हो,” उनले लेखेका छन्, “त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो।”

पोखरेलको यो अभिव्यक्तिले गगन थापाको ‘दास र लास’ टिप्पणीलाई केवल राजनीतिक आरोप मात्र नभई वैचारिक टकरावको रूपमा पनि प्रस्तुत गरेको छ।

इतिहासमा स्पार्टाकस प्राचीन रोमन साम्राज्यका दास योद्धा थिए, जसले अत्याचारविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए। वामपन्थी चिन्तनमा उनलाई अन्यायपूर्ण व्यवस्थाविरुद्ध नझुक्ने विद्रोही पात्रका रूपमा लिइन्छ। यही ऐतिहासिक प्रतीक प्रयोग गर्दै पोखरेलले वर्तमान राजनीतिक संघर्षलाई वैचारिक उचाइमा उभ्याउने प्रयास गरेका छन्।

यससँगै एमाले–कांग्रेसबीचको वाकयुद्ध केवल शब्दमा सीमित नरही राजनीतिक दर्शन र संकटप्रतिको दृष्टिकोणमा केन्द्रित हुँदै गएको देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *