काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन शीर्ष नेतृत्वको सहभागिताबिनै सुरु हुने भएको छ । उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का उपस्थित नहुने भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विरुवामा पानी हालेरमहाधिवेशनको उद्घाटन गरेका छन् ।
सभापति देउवा र कार्यवाहक सभापति खड्कालाई कार्यक्रममा सहभागी गराउन आइतबार बिहानसम्म प्रयास गरिएको थियो । तर विशेष महाधिवेशन पक्षधर दोस्रो तहका नेताहरूको पहलसमेत सफल हुन सकेन । महामन्त्रीद्वय भने उक्त प्रयासमा प्रत्यक्ष संलग्न नरहेको जनाइएको छ । शीर्ष नेतृत्वको अनुपस्थितिपछि महाधिवेशनको औपचारिक कार्यक्रम महामन्त्रीद्वयले नै अघि बढाउने तयारी गरिएको छ । यस घटनाले कांग्रेसभित्र लामो समयदेखि देखिँदै आएको आन्तरिक मतभेद थप सतहमा आएको संकेत गरेको छ ।
कार्यक्रमस्थलमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ र महामन्त्री गगन थापा पुगिसकेका छन् । महाधिवेशनको क्रममा पार्टीको नेतृत्व, विधान कार्यान्वयन र भावी राजनीतिक दिशाबारे तीव्र बहस हुने अपेक्षा गरिएको छ । यसैबीच, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनको मागलाई औचित्यहीन ठहर गर्दै स्पष्ट असहमति जनाएको छ । केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशनको कार्यतालिका २०८२ मंसिर १५ गतेका लागि सर्वसम्मत रूपमा तय भइसकेको र विधानअनुसार प्रक्रिया अघि बढिसकेको जनाएको छ ।
पार्टीले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको काम अधूरो रहेको अवस्थामा व्यक्तिगत पदाधिकारी वा सदस्यले आह्वान गरेको विशेष महाधिवेशन विधानविपरीत हुने भन्दै यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ । केन्द्रीय कार्यसमितिले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका सबै तहका नेता–कार्यकर्तालाई उम्मेदवारको जितका लागि सक्रिय हुन आह्वानसमेत गरेको छ ।
उता, सभापति शेरबहादुर देउवाले पार्टी विभाजन कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारिसकेका छन् । आफ्नै निवासमा केन्द्रीय सदस्यहरूसँगको छलफलमा उनले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । देउवाले आन्तरिक मतभेद संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै विशेष महाधिवेशनले पार्टीलाई विभाजनतर्फ लैजान सक्ने जोखिमप्रति सचेत गराएका छन् । कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर चर्किँदै गएको विवादले पार्टीको आन्तरिक राजनीति थप तरंगित बनेको छ ।




