राजनीति

कांग्रेस संस्थापनपक्षको पत्रकार सम्मेलन स्थगित

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित गरिएको छ। शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने तय गरिएको उक्त पत्रकार सम्मेलन नहुने जानकारी पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत दिएका हुन्।

पार्टीभित्र देखिएको आन्तरिक विवादकै सन्दर्भमा पत्रकार सम्मेलन आयोजना गर्न लागिएको थियो। विशेषगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारदेखि दुई दिनसम्म काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन बोलाएपछि कांग्रेसभित्र मतभेद चर्किएको छ।

पार्टी केन्द्रीय कार्यालयले उक्त विशेष महाधिवेशन विधानविपरीत भएको ठहर गर्दै कार्यसम्पादन समितिबाट निर्णय गराई महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी नहुन आग्रह गरेको छ। यही विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने तयारीस्वरूप पत्रकार सम्मेलन बोलाइएको भए पनि अन्तिम घडीमा स्थगित गरिएको जनाइएको छ।

पत्रकार सम्मेलन किन स्थगित गरियो भन्नेबारे थप कारण खुलाइएको छैन। तर पार्टीभित्रको जारी रस्साकस्सीका कारण कांग्रेसको आन्तरिक राजनीति थप पेचिलो बन्दै गएको देखिन्छ।

congress1

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *