देश

माघ ११ पछि राष्ट्रिय सभाको शक्ति सन्तुलन फेरिँदै, कांग्रेस–एमाले निर्णायक बन्दै, नेकपाको वर्चस्व सकिँदै

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको परिणामपछि राष्ट्रिय सभामा दलहरूको हैसियत परिवर्तन हुने देखिएको छ। फागुन २१ गतेपछि नेपाली कांग्रेस राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बन्नेछ भने कांग्रेस–एमाले–जसपा गठबन्धन दुईतिहाइ नजिक पुग्ने सम्भावना छ।

हाल ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेसका १६, एमालेका ११, नेकपाका २७, जसपा नेपालका ४ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्। फागुन २१ गते एमालेका ८, नेकपाका ९ (राष्ट्रपतिबाट मनोनित वामदेव गौतमसहित) र जसपाका २ जना सदस्यको कार्यकाल सकिँदैछ। यस चरणमा कांग्रेसका कुनै पनि सदस्यको कार्यकाल सकिँदैन।

कांग्रेस, एमाले र जसपा नेपालबीच भएको चुनावी तालमेलअनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ गरी १८ सिटमा प्रतिस्पर्धा गरेका छन्, जसबाट सबै उम्मेदवार निर्वाचित हुने निश्चित जस्तै छ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता हुन्छन्। प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ छ। मतभारको अवस्था हेर्दा कोसी प्रदेशमा एमाले र बाँकी ६ प्रदेशमा कांग्रेस बलियो देखिन्छ। मधेस प्रदेशमा जसपा तेस्रो ठूलो दल हो।

प्रदेशगत रूपमा कोसी र लुम्बिनीबाट ३–३, मधेसबाट ४ तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट २–२ सदस्यका लागि निर्वाचन हुँदैछ।

निर्वाचनपछि राष्ट्रिय सभामा कांग्रेसका २५, एमालेका ११, नेकपाका १८, जसपाका ३ र जनमोर्चाका १ जना सांसद हुनेछन्। साथै, सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना सदस्य मनोनित हुने व्यवस्था छ।

यससँगै कांग्रेस–एमाले गठबन्धनसँग ३६ सांसद पुग्नेछन्, जसले स्पष्ट बहुमत कायम गर्नेछ। कांग्रेस, एमाले र जसपा गठबन्धनसँग ३९ सांसद हुने अनुमान छ, जुन दुईतिहाइ बहुमतभन्दा एक सिट कम हो। दुईतिहाइ पुर्‍याउन जनमोर्चा वा मनोनित सदस्यको साथ आवश्यक पर्नेछ।

यसअघि २०८१ असार १७ मा बनेको कांग्रेस–एमाले गठबन्धन राष्ट्रिय सभामा अल्पमतमा रहेकाले विधेयक पारित गर्न कठिनाइ हुँदै आएको थियो। निर्वाचनपछि भने सरकारलाई राष्ट्रिय सभामा सहज बहुमत प्राप्त हुने देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *