काठमाडौं। नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद अब केवल विशेष महाधिवेशनको बहसमा सीमित नरही खुला टकरावतर्फ उन्मुख देखिन थालेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा वरिष्ठ नेता विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारलाई लिएर कांग्रेसभित्र ‘दबाबको राजनीति’ र ‘पर्दापछाडीको खेल’ तीव्र रूपमा चर्चामा आएको छ। केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका पूर्व उपसभापति तथा केन्द्रीय सदस्य निधिमाथि बाहिर जम्मा भएको समूहले गरेको दुर्व्यवहारको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पार्टीभित्रको असन्तोष सतहमा आएको हो। निधिले सो घटनालाई कांग्रेस कार्यकर्ताको स्वाभाविक प्रतिक्रिया नभई परिचालित आक्रमणको संज्ञा दिएका छन्।
घटनापछि प्रतिक्रिया दिँदै निधिले भने, “विशेष महाधिवेशन पक्षधरको तर्फबाट कुनै कार्यक्रम नभएको भन्दै केन्द्रीय सदस्य मधु आचार्यज्यूले विज्ञप्ति नै जारी गर्नुभएको थियो। तर मेरो नजिक आएका व्यक्ति मदिरा सेवनको अवस्थामा अनुचित व्यवहारमा उत्रिए। यस्तो व्यवहार गर्ने व्यक्ति कांग्रेस सदस्य हुनै सक्दैन, यो स्पष्ट रूपमा परिचालित गतिविधि हो।” निधिले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको स्पष्ट पार्दै यस्ता गतिविधिले आफ्नो राजनीतिक अडानमा कुनै असर नपार्ने बताए। “म विगत नौ–दश वर्षदेखि यस्ता मण्डले प्रवृत्तिका दुर्व्यवहार सहँदै आएको छु। कांग्रेसको इतिहास र संस्कार यस्ता छैनन्,” उनले भने, “दबाब र डर देखाएर पार्टीको दिशा बदल्न खोज्नु गलत हो।”
यस घटनाप्रति कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले पनि कडा आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै निधिमाथि भएको व्यवहारलाई “अत्यन्त दुःखद र निन्दनीय” भनेका छन्। लोकतन्त्रमा असहमति राख्ने अधिकार भए पनि कसैमाथि दुर्व्यवहार गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ। उता, विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य मधु आचार्यले भने घटनालाई संगठित कार्यक्रमका रूपमा चित्रण गर्नु गलत भएको बताएका छन्। “हामीतर्फबाट कुनै घेराउ वा औपचारिक कार्यक्रम थिएन, यो व्यक्तिगत र स्वस्फूर्त व्यवहार मात्र हो,” उनले प्रतिक्रिया दिएका छन्। तर सामाजिक सञ्जालमा देखिएका भिड, नाराबाजी र आक्रोशका दृश्यले भने पार्टीभित्र संगठित दबाब सिर्जना गरिएको आरोपलाई थप बल पुर्याएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार सानेपाको घटनाले कांग्रेसभित्र असन्तुष्ट समूहले सडक र भीडको माध्यमबाट नेतृत्वमाथि दबाब सिर्जना गर्न खोजेको संकेत गर्छ। विशेष महाधिवेशनको मागलाई राजनीतिक मुद्दाभन्दा पनि शक्ति सन्तुलन बदल्ने औजारका रूपमा प्रयोग गर्न खोजिएको उनीहरूको विश्लेषण छ। यसैबीच, जेन–जी फ्रन्टकी संयोजक रक्षा बमलगायतका व्यक्तिहरूले सार्वजनिक रूपमा कांग्रेस नेतृत्वमाथि कडा प्रश्न उठाउँदै विशेष महाधिवेशन अपरिहार्य भएको तर्क गरिरहेका छन्। उनीहरूले यथास्थितिवादविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन्, जसले कांग्रेसभित्रको विवादलाई अझै उग्र बनाउने संकेत गरेको छ।
कांग्रेसभित्र संस्थापन पक्ष भने विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको निष्कर्षमा पुगेको छ। पाँच प्रदेश सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन र आगामी निर्वाचनमा ध्यान केन्द्रित गर्न आग्रह गरिसकेका छन्। सभापति शेरबहादुर देउवाले समेत महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन अपिल गर्दै आन्तरिक तनाव कम गर्ने प्रयास गरेका छन्। तर विशेष महाधिवेशन पक्षधर समूहको गतिविधि, बाह्य शक्तिसँगको नजिकिँदो सम्बन्ध र सडक दबाबले कांग्रेसभित्र ‘पार्टी सुधार’भन्दा पनि ‘पार्टी कमजोर बनाउने दाउ’ चलेको आरोप संस्थापन पक्षले लगाउन थालेको छ।
कांग्रेसभित्र अहिले उठिरहेको मूल प्रश्न स्पष्ट हुँदै गएको छ— पार्टी विधि, विधान र संस्थागत निर्णयबाट चल्ने हो कि भीड, दबाब र पर्दापछाडिको राजनीतिक खेलबाटरु सानेपामा देखिएको घटनाले यही प्रश्नलाई अझ गहिरो बनाएको छ, जसको उत्तरले कांग्रेसको आगामी दिशा तय गर्ने देखिन्छ।
आधिकारिकता भन्दा माथि उठेर पार्टी हाइज्याक गर्न खोजेपछि दुई महामन्त्रीमाथि चौतर्फी आलोचना




