राजनीति

दुर्गा प्रसाईंको ‘नागरिक बचाउ दल’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको समर्थनमा नयाँ राजनीतिक शक्ति उदाउँदै गएको छ — नागरिक बचाउ दल। नाम दर्ताका लागि निवेदन निर्वाचन आयोगमा पुगेपछि यो दल औपचारिक प्रक्रिया पूरा गर्ने चरणमा प्रवेश गरेको छ। आयोगमा बुझाइएको निवेदनअनुसार पार्टीको नेतृत्व माधव खतिवडाले गर्दैछन्।

प्रसाईंले पछिल्ला महिनामा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक संरक्षणमा केन्द्रित अभियान चलाउँदै आएका छन्। सोही अभियानको भावनासँग मिल्दोजुल्दो नाम र उद्देश्यसहित दल गठन गरिएको बताइन्छ। आइतबार पार्टीका केन्द्रीय सदस्यहरू सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन्।

दल दर्ताका लागि आज अन्तिम दिन रहेकाले आयोगमा चहलपहल बढेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ताको समय भने भोलिदेखि मंसिर १० गतेसम्म खुला रहनेछ। कागजात पूर्ण रूपमा पुगेपछि आयोगले दर्ता प्रमाणपत्र जारी गर्नेछ, र यसै आधारमा पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन सक्नेछ।

यता, प्रसाईं सरकारसँग लगातार संवादमा छन्। उनले अघि सारेका मागबारे कात्तिक २६ गते सिंहदरबारमा सरकारी टोलीसँग वार्ता भएको थियो, जहाँ प्रसाईं पक्षले ७ मंसिरदेखि सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने आश्वासन दिएको थियो। साथै दल दर्ता गरेर चुनावी प्रतिस्पर्धामा जाने तयारी पनि सार्वजनिक गरिएको थियो।

यसअघि कात्तिक १४ गते प्रधानमन्त्री सुशीला कार्कीले सम्पादकहरूसँगको भेटमा झापामा पुराना नेताहरू कमजोर देखिएको र दुर्गा प्रसाईं उदाउदो शक्तिका रूपमा देखिन सक्ने आफूले आकलन गरेको भन्दै चर्चा गरेकी थिइन्। आइतबार प्रसाईं समर्थक नेताहरू पुनः आयोगमा सनाखतका लागि पुगेपछि नयाँ दल राजनीतिक मैदानमा औपचारिक रूपमा प्रवेश गर्न नजिकिएको संकेत देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *