काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको तयारीलाई तीव्र बनाउन संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले ७ बुँदे मागसहित पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका छन्। सानेपास्थित पार्टी कार्यालयमा बुझाइएको ज्ञापनमा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मंसिर १५ भित्रै १५ औँ महाधिवेशन सुरु गर्नुपर्ने मुख्य माग राखिएको छ।
ज्ञापनअनुसार क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण कार्य समयसीमा तोकेर छिटो निष्कर्षमा पुर्याउन पार्टी नेतृत्वले पहल गर्नुपर्ने सुझाव दिइएको छ। यससँगै विधान संशोधनमार्फत युवा पुस्ताको प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने तथा पार्टीको आन्तरिक निर्वाचन समितिलाई तत्काल पूर्णता दिनुपर्ने माग पनि समावेश गरिएको छ।
महाधिवेशनमार्फत पार्टी संरचनामा महिला, युवा, दलित, आदिवासी–जनजाति, थारु, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र र वर्गका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता बढाउनुपर्ने उल्लेख गर्दै स्थानीयदेखि संघीय तहसम्म समानुपातिक समावेशिताको सिद्धान्तअनुरूप उम्मेदवार छनोटमा युवालाई प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।
यस्तै संविधान संशोधनका विषयमा वडास्तरदेखि केन्द्रसम्म व्यापक छलफल चलाएर पार्टीको स्पष्ट धारणा तयार गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ। गत भदौ २३ र २४ मा भएका घटनाहरूको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन र आवश्यक कारबाही गर्न पार्टी नेतृत्वलाई ज्ञापनमार्फत आग्रह गरिएको छ।








