राजनीति

सरकार स्थायित्वका लागि विश्वप्रकाश शर्माको ५ सूत्रीय प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई पाँच वर्ष स्थायी बनाउनका लागि पाँचवटा ठोस सुझाव सार्वजनिक गरेका छन्। पार्टी केन्द्रीय समितिको जारी बैठकमा उनले शासन प्रणाली स्थायित्व, प्रधानमन्त्री चयन र मन्त्रालय गठन प्रक्रियामा सुधार आवश्यक रहेको बताए।

शर्माका अनुसार, आमनिर्वाचनपछि प्रत्यक्ष सिट र लोकप्रिय मतको आधारमा पहिलो दलले सरकारको नेतृत्व गर्नुपर्नेछ। उनले भने, “संसदमा पहिलो दल बनेको दलले प्रधानमन्त्री चयन गर्ने, बाँकी दलले पुरै अवधिभर विपक्षमा बस्ने परिपाटी बसाल्नुपर्छ।”

शर्मा प्रस्तावित मुख्य ५ सुझावहरूः

सरकार गठनको नयाँ ढाँचाः
पहिलो दलले सामान्य बहुमत नपाए पनि निर्वाचनअघि आयोगमा बुझाइएका विज्ञहरूको नामसूचीबाट अपुग सिट पूर्ति गर्ने ‘विनर टेक्स अल’ प्रणाली लागू गर्नुपर्ने।

प्रधानमन्त्री चयन र मन्त्री नियुक्ति?
संसदीय दलले चयन गरेको नेता प्रधानमन्त्री हुने। मन्त्रिपरिषद् गठन एकै चरणमा सम्पन्न गर्ने र मन्त्रीहरू सम्बन्धित क्षेत्रका विज्ञहरूबाट चयन गर्नुपर्ने।

विश्वासको मत प्रणालीः
प्रधानमन्त्रीले पदग्रहण गरेपछि १० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने, र दुई वर्षपछि पुनः एकपटक विश्वासको मत परीक्षण अनिवार्य गर्नुपर्ने। दोस्रो पटक पनि विश्वासको मत पाएपछि प्रधानमन्त्रीले बाँकी अवधि सत्तामा रहन पाउने।

कार्यकाल सीमाः
कुनै पनि व्यक्ति जीवनमा दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्ने।

संरचनागत सुधारः
निर्वाचन क्षेत्रको पुनरावलोकन गरी सङ्घ र प्रदेश दुबैमा संघमा ११ र प्रदेशमा ५ सदस्यीय मन्त्रिपरिषद् सीमित गर्नुपर्ने।साथै, संवैधानिक परिषद् मार्फत हुने नियुक्तिहरूमा खुला प्रतिस्पर्धा प्रणाली लागू गर्नुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनर्संरचना गर्नुपर्ने।

शर्माले आफ्नो प्रस्तावलाई “राजनीतिक स्थायित्व र जवाफदेही शासनको नक्सा” भन्दै प्रस्तुत गरे। उनका अनुसार, बारम्बार सरकार परिवर्तनले नीति कार्यान्वयन असफल बनाएको र दीर्घकालीन योजना धरापमा परेको छ। महामन्त्री शर्माको पाँच सूत्रीय प्रस्तावले नेपाली राजनीतिमा स्थायित्व र उत्तरदायित्वबारे नयाँ बहस सुरू गरेको छ। कांग्रेसभित्रै यसबारे छलफल तीव्र हुने संकेत मिलेको छ, भने विश्लेषकहरूले यो प्रस्तावलाई “संसदीय सुधारतर्फको व्यावहारिक खाका”का रूपमा लिएका छन्।

bishwaprakash-sharma-27-kartik (1)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *