देश

मधेशमा मुख्यमन्त्री नियुक्तिपछि तनाव : कार्यालयमा तोडफोड, सात दलको विरोध

काठमाडौं । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिपछि राजनीतिक तनाव बढेको छ। नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सात दलका नेता तथा कार्यकर्ताले प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन्।

एमालेका संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ९३० अनुसार मुख्यमन्त्री नियुक्त गरेपछि सातै दलले असन्तुष्टि जनाएका हुन्। उनीहरू मुख्यमन्त्री कार्यालय अगाडि नाराबाजी गर्दै यादवको शपथ रोक्न प्रयासरत थिए।

पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा बसेको सात दलको बैठकले कानुनी र राजनीतिक आन्दोलन दुबै बाटो अपनाउने निर्णय गरेको छ। सोनलले भने, “यो घटना मधेशी जनताको इज्जत, अस्मिता र मानमर्यादामाथिको प्रहार हो। हामी कानुनी उपचारका साथै आन्दोलनमा पनि जानेछौं।”

सोनलले कात्तिक २२ गते सदनमा विश्वासको मत लिनुअघि राजीनामा दिएका थिए। त्यसपछि नयाँ सरकार गठनका लागि आह्वान ढिलो भएको भन्दै सात दलले प्रदेश प्रमुखविरुद्ध नै खबरदारी गर्दै आएका थिए।

तर, प्रदेश प्रमुख भण्डारीले काठमाडौं उपचारका लागि जाने भन्दै बिहानै बर्दिबास पुगेर एमालेका यादवलाई मुख्यमन्त्रीको शपथ गराएपछि विवाद झन् चर्किएको छ। यस घटनालाई विपक्षी दलहरूले “संविधान र प्रदेशको आत्मासँग खेलवाड” भनेर आलोचना गरेका छन्।

पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले यो विवादको अन्तिम निर्णय अब सर्वोच्च अदालतले नै गर्ने बताएका छन्। उनका अनुसार, “प्रदेश प्रमुखले संविधानको अधिकार प्रयोग गरेर गरेको नियुक्तिलाई सर्वोच्चले मात्र समीक्षा गर्न सक्छ। अन्ततः कानुनी व्याख्या अदालतबाटै आउनेछ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *