काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको १५औं महाधिवेशन आगामी वैशाख महिनाको अन्तिम साता आयोजना गर्ने प्रस्ताव अघि सारेको छ।
सोमबार नयाँ बानेश्वरमा बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव तयार गरी भोलि बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्ने निर्णय गरेको छ।
संस्थापन इतरका नेताहरू भने प्रतिनिधिसभा निर्वाचनअघि मात्र विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन्। उनीहरूले आवश्यक ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्।
संस्थापन पक्षको भेलाले पार्टीका सबै तहलाई निर्वाचनमा सक्रिय रहन आह्वान गर्दै, १५ पुसभित्र क्रियाशील सदस्य नवीकरण र नयाँ वितरण पूरा गर्ने, साथै घरदैलो अभियान सञ्चालन गरी जागरण अभियान अघि बढाउने निर्णय गरेको छ।
यसअघि शुक्रबार र आइतबारका लागि डाकिएको केन्द्रीय समितिको बैठक सहमति नजुटेको कारण स्थगित भएको थियो। तर आजको बैठकमा पनि सहमति जुट्न नसकेको बताइएको छ। भोलि बस्ने बैठकमा दुवै पक्षले आफ्ना प्रस्ताव पेश गर्ने तयारीमा छन्।
महामन्त्री गगन थापाले चुनावअघि महाधिवेशन हुने कार्यतालिका पेश गर्ने तयारी गरेका छन् भने संस्थापन पक्षले चुनावपछि महाधिवेशन गर्ने काउन्टर प्रस्ताव अघि बढाएको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले केन्द्रीय समिति बैठक रोक्न नहुने र छलफलपछि निष्कर्ष निकालिने तर्कसमेत गरेका छन्।
सत्तारुढ कांग्रेसमा निर्वाचनअघि महाधिवेशन गर्ने र चुनावपछि मात्र गर्ने विषयमा मतभिन्नता रहँदै आएकोले पार्टीको शीर्ष नेतृत्वबीच सहमति आउन अझै बाँकी छ।




