राजनीति

महाधिवेशनबारे मतैक्य नजुट्दै कांग्रेस कार्यसमिति बैठक सकियो, भोलि पुनः बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सकिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक  ढिलोगरी सुरु भई सम्पन्न भएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा आज १५ जना सदस्यहरूले धारणा राखेका छन् । आज बोल्नेहरूमा मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के.सी., रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि.क., लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, तथा प्रदेश सभापतिहरू इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी) रहेका छन् ।

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार आजको बैठकमा अधिकांश नेताहरूले नियमित कार्यतालिका अनुसार नै महाधिवेशनमा जानुपर्ने र आगामी निर्वाचनअघि महाधिवेशन सम्भव नहुने धारणा राखेका छन् ।

बैठकमा विशेषगरी महाधिवेशनको समय, निर्वाचन तयारी, र जेनजी आन्दोलनपछिको राजनीतिक अवस्थाबारे विस्तृत छलफल भएको बताइएको छ ।

भोलि दिउँसो १ बजे पुनः बैठक बस्ने तय गरिएको छ ।यसअघि असोज २८ गते सुरु भएको बैठक सभापति शेरबहादुर देउवाको स्वास्थ्य कारणले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा अघि बढिरहेको छ । तिहार र छठ पर्वका कारण केही समय स्थगित भएको बैठक आज पुनः सञ्चालनमा आएको हो ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *