देश

मन्त्रिपरिषद् तेस्रो विस्तारपछि १२ सदस्यीय, कार्कीले मिलाइन् पुनः शक्ति सन्तुलन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै आफ्ना मन्त्रीहरूको जिम्मेवारी फेरबदल गरेकी छन्। आइतबार भएको विस्तारसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ। भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश कार्कीले यसअघि भदौ ३० र असोज ६ गते दुईपटक मन्त्रिपरिषद् विस्तार गरेकी थिइन्। तेस्रो पटकको विस्तारमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, खगेन्द्र सुनार र डा. सुधा शर्मा गौतम नयाँ मन्त्री बनेका छन्।

यसअघि भदौ ३० गते रामेश्वरप्रसाद खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङ मन्त्री बनेका थिए भने असोज ६ गते अनिलकुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेललाई मन्त्रीमा समावेश गरिएको थियो। नयाँ विस्तारपछि मन्त्रालयको जिम्मेवारी पुनः बाँडफाँट गरिएको छ। बब्लु गुप्तालाई युवा तथा खेलकुद, खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, डा। सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसङ्ख्या र गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई अनिलकुमार सिन्हाले सम्हाल्दै आएको भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएकी छन्। अब सिन्हा कानुन, न्याय तथा संसदीय मामिला र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका रूपमा रहनेछन्। यस्तै, मन्त्री कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी एकै साथ सम्हाल्ने भएका छन्।

यसअघि पहिलो विस्तारमा कार्कीले ओमप्रकाश अर्याललाई गृह तथा कानुन, न्याय र संसदीय मामिलाको जिम्मेवारी दिएकी थिइन्। दोस्रो विस्तारमा उनले कानुन मन्त्रालय अर्यालबाट खोसेकी थिइन् भने अहिलेको विस्तारमा सिन्हाबाट भूमि व्यवस्था मन्त्रालय हटाएकी छन्।

मन्त्रिपरिषद् विस्तारसँगै कार्कीले सन्तुलित शक्ति संरचना कायम गर्न खोजेको बुझिन्छ। जेनजी आन्दोलनपछिको राजनीतिक संक्रमणका बीच उनले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रशासनिक स्थायित्व र नीति कार्यान्वयनमा गति ल्याउने प्रयास गरेको बताइन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *