देश

प्रधानमन्त्री कार्कीको आश्वासन : हायात होटल सञ्चालनमा सुरक्षाको पूर्ण ग्यारेन्टी

काठमाडौं । हायात होटलको सेवा अवरुद्ध भएपछि प्रधानमन्त्री सुशीला कार्कीले होटल व्यवस्थापनलाई सेवा पुनः सुचारु गर्न आग्रह गरेकी छन्। सुरक्षासम्बन्धी पूर्ण सहयोगका लागि सरकार तयार रहेको उनको भनाइ छ।

प्रधानमन्त्री कार्कीले हायात होटलमा सेवा बन्द र कर्मचारी प्रवेशमा रोक लगाइएको भन्ने जानकारी पाएपछि तत्काल चासो व्यक्त गरेकी थिइन्। प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले शनिबार बिहान हायात रीजेन्सीको व्यवस्थापनसँग छलफल गरेका छन्।

छलफलका क्रममा मन्त्री खनालले होटलका प्रतिनिधिलाई नआत्तिन आग्रह गर्दै भने, “हामी तपाईंहरूको सुरक्षाका लागि पूर्ण जिम्मेवारी लिन्छौं। उच्च मनोबलका साथ सेवा सुचारु गर्नुहोस्, सरकार तपाईंहरूको साथमा छ।”

खनालका अनुसार, सरकार व्यवसायिक विश्वास र लगानी सुरक्षामा कुनै कमजोरी हुन नदिने पक्षमा छ। उनले होटल व्यवसायीहरूलाई शान्त वातावरणमा सेवा निरन्तरता दिन आग्रह गरे । प्रधानमन्त्रीको सचिवालयका अनुसार, आइतबार पुनः हायात व्यवस्थापनसँग विस्तृत छलफल गरी सम्भावित समस्या समाधानका लागि आवश्यक सरकारी पहल गरिनेछ।

सरकारको उच्चस्तरीय चासोपछि हायात होटल सञ्चालन पुनः सुरु हुने अपेक्षा गरिएको छ, जसले आतिथ्य क्षेत्रको विश्वास पुनःस्थापनामा सहयोग पुर्‍याउने देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *