देश

सिरहा आक्रमणप्रति निष्पक्ष छानबिन गर्न गृहमन्त्रीको आईजीपीलाई निर्देशन

काठमाडौं । सिरहाको मिर्चैया नगरपालिका–३ मा विपन्न परिवारमाथि भएको आक्रमण राजनीतिक दबाबमा सामसुम पारिएको आरोपपछि गृहमन्त्री ओमप्रकाश अर्यालले घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन्।

गृहमन्त्री अर्यालले प्रहरी महानिरीक्षक ९आईजीपी० चन्द्रकुबेर खापुङलाई फोन गरी घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन दिएका हुन्। गृह स्रोतका अनुसार मन्त्री अर्यालले आईजीपीसँग फोनवार्तामा भने, “घटनाबारे तत्काल बुझ्नुस् र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउनुस्।”

मिर्चैया–३ छड्की टोलस्थित एक विपन्न परिवारमाथि भएको आक्रमणमा चार जना घाइते भएका थिए। पीडित पक्षले प्रहरीले पाँच जना पक्राउ गरे पनि राजनीतिक दबाबमा तीन जनालाई रिहा गरेको र जाहेरी समेत दर्ता नगरेको आरोप लगाएको छ।

घटनाबारे सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि गृह मन्त्रालयले ध्यानाकर्षण जनाएको थियो। मन्त्री अर्यालले घटनालाई सामान्य रूपमा नलिन र दोषीलाई उम्कन नदिन प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्।

स्रोतका अनुसार, आईजीपी खापुङले गृहमन्त्रीलाई “घटनाको विस्तृत विवरण संकलन गरी आवश्यक कारबाही अघि बढाइने” जवाफ दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *