काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भक्तपुरको बालकोटस्थित आफ्नो जलेको निवास हेर्न पुगे। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीपछि खण्डहर बनेको घर अवलोकन गर्न उनी पत्नी राधिका शाक्य र केही कार्यकर्तासहित बालकोट पुगेका हुन्।
सुरुमा मुख्य गेट बाहिर केहीबेर उभिएर जलेको संरचना अवलोकन गरेका ओली पछि घरभित्र छिरेर बार्दली र कोठा–कोठा घुमे। आगजनीपछि उनी र उनका परिवार भक्तपुरकै गुण्डुमा अस्थायी रूपमा बस्दै आएका छन्।
‘संग्रहालय बनाउने सपना खरानीमा बदलियो’
ओलीकी धर्मपत्नी राधिका शाक्यले यसअघि पनि असोज ४ गते खण्डहर बनेको घर अवलोकन गरेकी थिइन्।
उनीले नयाँ पुस्तालाई यो घर संग्रहालयको रूपमा छोड्ने सपना राखेकी थिइन्, तर अब त्यो सपना खरानीमा परिणत भएको बताइन्।
शाक्यले भनिन्,“मलाई यो घर व्यवस्थापन गर्न छ महिना लागेको थियो। एउटा कोठामा देशभरबाट प्राप्त सम्मानपत्र र मायाका चिनो राखेकी थिएँ, अर्कोमा चीन, कम्बोडिया, भारत, भियतनाम, जापानलगायतका प्रधानमन्त्रीहरूले दिएका अमूल्य वस्तुहरू सजाएकी थिएँ।” उनका अनुसार, घर फेरि बनाउन सकिए पनि इतिहास पुनः निर्माण गर्न नसकिने पीडा आज पनि ताजा छ।
अध्यक्ष ओलीः ‘जेनजी आन्दोलनमा घुसपैठ भयो’
अध्यक्ष ओलीले आफ्नो घरसहित एमाले नेताहरूको घर जेनजी आन्दोलनका नाममा नियोजित रूपमा जलाइएको आरोप लगाए। उनले भने,“जेनजी आन्दोलनमा वास्तविक आन्दोलनकारीभन्दा बाहिरबाट आएका समूहले लुटपाट, आगजनी र इतिहासका दस्तावेजहरूसमेत नष्ट गरे।”
ओलीले आफ्नो बसोबासको घर सरकारको नाममा दर्ता गरिएको र मृत्यु पश्चात देशकै नाममा संग्रहालय बनाउने तयारी भएको जानकारीसमेत दिए। उनका अनुसार, घरभित्रका ऐतिहासिक मूर्तिहरू, दस्तावेज र सम्मानपत्रहरू समेत चोरी भएका छन्। योजनावद्ध जेनजी आन्दोलन भएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला ओली समेत सोही कुरा दोहो¥याए ।
ओलीले उक्त घटनामा संलग्न व्यक्तिहरू पक्राउ परे पनि गृह मन्त्रालयले उनीहरूलाई कारबाही नगर्ने निर्देशन दिएको आरोप लगाए। उनले भने,“गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्व र नैतिकता नै प्रश्नमा पर्यो। संस्कृतिप्रतिको संवेदनशीलता र राष्ट्रप्रतिको जिम्मेवारी देखिएन।” ओलीका अनुसार, यदि सरकारले दोषीमाथि तत्काल कारबाही नगरे, भविष्यमा यस्ता अपराधको पुनरावृत्ति हुने खतरा छ।
स्मृति र राजनीतिक सन्देश
बालकोटको खरानीमाझ उभिएका ओलीले अन्त्यमा भने,“यो घर फेरि बनाउन सकिन्छ, तर यहाँको इतिहास र सम्झना फेरि जन्मिँदैन। उनको भनाइले बालकोटको आगजनीलाई केवल व्यक्तिगत क्षतिभन्दा बढी — राजनीतिक र ऐतिहासिक प्रतीकका रूपमा प्रस्तुत गरेको देखिन्छ।




