काठमाडौं । नेपाली कांग्रेस भित्र फेरि एकपटक सत्ता र संगठनको छलफल सुरु भएको छ। सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मंसिरमा सकिँदै गर्दा, आगामी महाधिवेशन समयमै गर्न सकिने सम्भावना दिनप्रतिदिन क्षीण हुँदै गएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित इतर समूहले “कार्यकाल लम्ब्याउने अभ्यास” भइरहेको भन्दै विरोध जनाइरहेका छन्। तर प्रवक्ता डा. प्रकाशशरण महत भन्छन् — “महामन्त्रीहरूले विशेष महाधिवेशनको कुरा औपचारिक रूपमा बैठकमा उठाएका नै छैनन्।”
जेनजी आन्दोलनपछिको राजनीतिक उथलपुथलसँगै कांग्रेस भित्र पनि असन्तुष्टि उम्लिएको छ। सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदा, पार्टीभित्र नेतृत्व हस्तान्तरणको संकेत देखिए पनि त्यसको विधि र समयबारे स्पष्टता छैन।
केन्द्रीय समितिको बैठक असोज २८ देखि सुरु भई लामो भएको छ तर निष्कर्ष नजिक पुगेको छैन। इतर पक्षले नियमित महाधिवेशन गर्न नसकिए “विशेष महाधिवेशन” गर्नुपर्ने माग गर्दै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित निवेदन दर्ता गराइसकेका छन्। तर संस्थापन पक्षले यसलाई राजनीतिक दबाब मात्रको रूपमा व्याख्या गरेको छ। प्रवक्ता महत भन्छन्, “अहिले हस्ताक्षर अभियानले पार्टीलाई तलसम्म विभाजित गरिरहेको छ। सनाखतको प्रक्रिया पूरा नभएसम्म यसको औपचारिकता मान्न सकिँदैन।”
महाधिवेशन पक्षधरहरूको तर्क छ — कार्यसमितिको कार्यकाल सकिए पनि महाधिवेशन प्रतिनिधिहरूको कार्यकाल विधानमा सीमित छैन।
नेता गुरुराज घिमिरे भन्छन्, “महाधिवेशन प्रतिनिधिको कार्यकाल सकियो भन्ने कुरा काइते तर्क हो। पार्टीको आवश्यकता अनुसार उनीहरूको म्याद जीवित रहन्छ।” तर संस्थापन पक्ष भन्छ — प्रतिनिधिहरूको वैधानिकता सकिँदा नयाँ नेतृत्व चयन गर्न कानुनी प्रश्न उठ्छ। यही व्याख्याको द्वन्द्वले अहिले कांग्रेसलाई संगठनात्मक सङ्कटमा धकेलेको छ। प्रवक्ता महतका अनुसार मंसिरभित्र महाधिवेशन सम्भव नदेखिनुको मुख्य कारण सदस्यता अद्यावधिक, वडा अधिवेशन र निर्वाचन तयारी हुन्।
“महाधिवेशन कुनै ख्यालठट्टा होइन,” महतले भने, “प्रक्रियागत तयारीका लागि समय पुग्दैन। नियमित विधि पूरा गर्न आवश्यक समय लिनैपर्छ।” अर्कोतर्फ महामन्त्री थापाले भने, मंसिरमा नियमित महाधिवेशन सम्भव नभए स्वतः विशेष महाधिवेशन हुनुपर्ने प्रस्ताव पेश गरिसकेका छन्। तर संस्थापन पक्षले त्यो औपचारिक रूपमा बैठकमा नआएको दाबी गर्दै त्यसलाई मिडिया हाइलाइट मात्र बताइरहेको छ।
नेपाली कांग्रेस अहिले संक्रमणको मोडमा छ — पुरानो नेतृत्व आफ्नो निरन्तरता खोज्दैछ, नयाँ पुस्ता सत्ता र संस्थागत सुधारको आवाज उठाइरहेछ। तर समस्या विधि होइन, विश्वासको अभाव हो। संस्थापन र इतर पक्षबीचको दूरीले संगठनलाई कमजोर बनाउँदै लैजाने संकेत देखिएको छ।
यदि महाधिवेशन मंसिरमा हुन सकेन भने, कांग्रेसको वैधानिकता मात्रै होइन, यसको नैतिक नेतृत्व क्षमता पनि प्रश्नमा पर्नेछ। देउवा पक्षले समयको अभाव देखाएर चुनाव ढिल्याउने हो कि सत्ता टिकाउने प्रयत्न गर्दैछ — यही प्रश्न अहिले कांग्रेसभित्रको राजनीतिक तापक्रम मापन गर्ने मुख्य सूचक बनेको छ।
महाधिवेशनको मिति मंसिर होस् वा चैत, कांग्रेसले आफ्नो मूल पहिचान — लोकतान्त्रिक अभ्यास र आन्तरिक सहमति जोगाउन सकेन भने, आगामी राजनीतिक समीकरणमा पार्टीको भूमिका कमजोर हुनसक्छ। नेतृत्व परिवर्तनको बहसले संगठन भाँच्ने होइन, सुधार गर्ने दिशा लिन जरुरी छ।




