राजनीति

कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्षबीच नोकझोक

काठमाडौं । काठमाडौं महानगरपालिकाको ४३औं नगर कार्यपालिका बैठकमा मेयर बालेन शाह र ११ नम्बर वडाका अध्यक्ष हिरालाल तण्डुकारबीच वादविवाद भएको छ ।

नेपाल स्काउटको जग्गामा महानगर अस्पताल निर्माणका लागि भाडा सम्झौता गर्ने प्रस्ताव प्रस्तुत गर्दा दुबैबीच तिक्तता उत्पन्न भएको हो ।

वडाध्यक्ष तण्डुकारले महानगरले आफ्नै भवन बनाउन नसकेर भाडामा बसिरहेको अवस्थामा नयाँ परियोजनामा लाग्नु अनुचित रहेको भन्दै आपत्ति जनाए । उनले नगर प्रहरीका लागि ब्यारेक निर्माणजस्ता प्राथमिक काम अघि बढाउन माग गरे ।

प्रतिक्रिया दिँदै मेयर बालेनले तिहारपछि महानगर भवन निर्माण सुरु हुने जानकारी दिए । त्यसपछि दुबैबीच तिहारपछि सुरु हुने भनाइमा वादविवाद बढ्दै गए ।

तण्डुकारले काम ढिलो भएको आरोप लगाउँदा बालेनले व्यङ्ग्यात्मक शैलीमा “तिहार आजै सकाउन मिल्छ ? ” भनेर जवाफ दिएका थिए । अन्ततः मेयरले प्रस्ताव क्रम अगाडि बढाउन निर्देशन दिँदै बैठक अघि बढाएका थिए ।

अध्यक्षले भने– ‘कुन बेला सुरु हुन्छ, तपाईं हामी आएकै साढे तीन वर्ष भइसकेको छ । जहिले अब हुन्छ तब हुन्छ भनेर आश्वासन दिएर हुन्छ ? त्यहाँ ठेकेदारले सामानहरू राखिरहेको छ । काम सुरु नहुँदा ठेकेदारले क्षतिपूर्ति माग्यो भने के गर्ने ? घर बनाउन लाग्नेभन्दा बढ्ता क्षतिपूर्ति दिनुपर्ने होला फेरि ।’

मेयर बालेनले प्रतिप्रश्न गरे– तिहार पछाडि होस् भन्न खोज्नु भाको कि नहोस् भन्न खोज्नु भाको ? भनेपछि नबनोस् भन्न खोज्नुभएको हो ?वडाध्यक्षले जवाफ दिए– ‘नबनोस् भनेको होइन, छिटो बनोस् भनेको हो ।’बालेनले जवाफ फर्काए – ‘तिहार छिटै सकाइदिनुपर्‍यो अब मैले ? ’

वडाध्यक्ष बोलिरहँदा बालेनले भने– ‘१० दिनको तिहार मैले आजै कसरी सकाइदिनु त ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *