काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग औपचारिक रूपमा अघि बढेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशनको माग गर्दै संकलित हस्ताक्षरको फाइल बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको हो।
नेता गुरुराज घिमिरेको नेतृत्वमा तयार पारिएको उक्त हस्ताक्षर अभियानको फाइल बुधबार अपराह्न ३ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा खड्कालाई बुझाइएको हो। फाइल बुझ्ने क्रममा खड्काले कुनै टिप्पणी नगरी छोटकरीमा “जय नेपाल” मात्र उच्चारण गरेका थिए।
अभियानका संयोजक घिमिरेका अनुसार २४ सय ८८ जना महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन मागमा हस्ताक्षर गरेका छन्। कांग्रेस विधानअनुसार ४० प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरेपछि पार्टीले तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
तर, यसपटकको फाइलमा कुन पदका लागि महाधिवेशन गरिने र प्रक्रिया कसरी अघि बढाइने भन्ने विषय खुलाइएको छैन।
पार्टीलाई नयाँ दिशा दिन माग
नेता घिमिरेले हस्ताक्षर बुझाउँदै भने,“पार्टी अहिले असाधारण राजनीतिक परिस्थितिबाट गुज्रिरहेको छ। अब कांग्रेसले नयाँ दिशा, नयाँ सोच र नयाँ नेतृत्व आवश्यक परेको छ।” उनका अनुसार जेन–जी आन्दोलनपछि पार्टीभित्र नयाँ पुस्ताको भूमिकाको माग तीव्र भएको र त्यसको संस्थागत स्वरूप नै यो हस्ताक्षर अभियान हो।
फाइल बुझेपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कुनै औपचारिक प्रतिक्रिया नदिएका भए पनि पार्टीभित्र यो कदमलाई ठूलो राजनीतिक दबाबका रूपमा लिइएको छ।
स्रोतका अनुसार खड्का आन्तरिक परामर्शपछि केही दिनभित्र औपचारिक प्रतिक्रिया दिने तयारीमा छन्।
यो हस्ताक्षर अभियान कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिकाबाट विश्राम लिएर उपसभापति खड्कालाई कार्यवाहक जिम्मेवारी दिएपछि सुरु गरिएको हो।
पार्टीभित्र देउवाको दीर्घकालीन नेतृत्वविरुद्ध उभिएको समूहले अब खड्काको कार्यकाललाई “संक्रमणकालीन नेतृत्वको अवसर” मानेर महाधिवेशनमार्फत नयाँ पुस्तालाई अघि ल्याउने प्रयास गरिरहेको छ।
कांग्रेस विधानअनुसार, हस्ताक्षर बुझाइएपछि तीन महिनाभित्र पार्टीले विशेष महाधिवेशन बोलाउनुपर्नेछ। तर त्यसका लागि महाधिवेशनको कार्यसूची, निर्वाचन तयारी र पदावधि निर्धारण जस्ता विषयहरूमा स्पष्टता आवश्यक छ।
यदि कार्यवाहक सभापतिले सो प्रक्रिया अघि नबढाए, भने असन्तुष्ट पक्षले विधान अनुसार वैकल्पिक कदम चाल्ने चेतावनी दिइसकेका छन्।
पार्टीका एक वरिष्ठ नेताले टिप्पणी गरे, “यो हस्ताक्षर अभियानले कांग्रेसभित्र नेतृत्वको पुस्तान्तरणको प्रक्रिया औपचारिक रूपमा सुरु गरिसकेको छ। अब खड्काको निर्णयले पार्टीको भविष्यको दिशा तय गर्नेछ।”




